Untitled Document
 

नेपाली साहित्य परम्परामा “महाभारत” र नरेन्द्रनाथ रिमाल

– प्रा. राजेन्द्र सुवेदी
विभागाध्यक्ष
नेपाली केन्द्रीय विभाग
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

विषयप्रवेश
नेपाली साहित्यको समग्र ऐतिहासिक शृङ्खलालाई अध्ययन गर्दा यसको जम्मा लिखित इतिहास परम्परा भाषाको स्वरूप निर्माणपछि लगभग ८ सय वर्षको अवधि बितिसकेको सन्दर्भ आज हाम्रा सामु विद्यमान छ । प्रस्तुत सन्दर्भलाई पुष्टि गर्न कथ्य, अभिलेख र सृजनाको जोरजाम गरेर अगि सार्नुपर्ने अवस्था उपस्थित भएको छ । यसरी इतिहासको भाषागत अधोरेखीय इतिहासलाई समग्र परिधिमा समेट्दा सिङ्गो नेपाली साहित्य पुगनपुग तीनसय वर्षको इतिहास निर्माण गर्न सफल भएको छ । यद्यपि यसको तिर्यकीकरण गरेर निरूपण गर्दा भाषा, साहित्य, संस्कृति, राष्ट्रियता, धर्म र दर्शनका विविध पक्षहरू, अनुभूति र ज्ञानका, समाज र जीवनवृत्तका पक्षहरू साहित्यभित्र समेटिएर रहेका देखिन्छन् । तिनको लम्बरेखालाई विषय मिश्रणका दृष्टिले तिर्यकीकृत र कलागत दृष्टिले सौन्दर्य चेतनामा विभाजित ढङ्गले प्रतिपादन गर्दा साहित्य सृजनाका स्वरूपहरू जुनसुकै ढङ्गले विभाजित भएका कालखण्डमा पनि उपलब्ध हुन सक्छन् । यसै सन्दर्भमा नेपाली साहित्यको इतिहासलाई समीक्षा गर्दा साहित्यको कालखण्ड लगभग प्राथमिक, माध्यमिक र आधुनिक संज्ञामा विभाजित गरेर अध्ययन गर्नु युक्तिसङ्गत देखिन आउँछ ।

आज विश्वसाहितयमा साहित्यको इतिहासलाई अध्ययन गर्ने एउटा नयाँ धारणा तयार भएको छ । त्यो धारणा उत्तरआधुनिकतावादी अवधारणा हो । यो अवधारणा अलिक भिन्न आधारहरू अवलम्बन गरेर उपस्थित भएको छ । यस अवधारणाले इतिहासलाई पूर्वआधुनिक (Premodernism) र आधुनिक (Modernism) भनिने दुई मूल भागमा राखेर विभाजन गर्ने परम्परा पश्चिमी साहित्यमा स्थापित भए जस्तै नेपाली साहित्यमा पनि पुरानो साहित्य र नयाँ साहित्यको अवधारणा बाबुराम आचार्यको ‘पुराना कवि र कविता’ (२००३) नामक कृतिले प्रस्तुत गरेको छ । तर यस किसिमको लेखनलाई नेपाली साहित्यका सन्दर्भमा जोडेर अध्ययन गर्दा समग्र प्रवृत्तिगत विशेषताहरू समेटिन सक्ने विशेषता पनि उपलब्ध भइहाल्दैन । किनभने इतिहासको अधोलम्बरेखालाई विभाजित खण्डका रूपमा प्रस्तुत गरेर अध्ययन गर्दा नेपाली साहित्यको इतिहासमा स्रष्टालाई प्रभाव पार्न आउने सामाजिक, सांस्कृतिक, धार्मिक, नैतिक, राजनैतिक र दार्शनिक चेतनाले अनेकौं क्षण र सन्दर्भमा भूमिका निर्वाह गरेका हुन्छन् । त्यसकारण साहित्यको इतिहास अध्ययनको परम्परागत धारणामा नव–नव मूल्यहरू समाहित हुँदै जाने कुरा (श्रेष्ठ दयाराम ४७) यस किसिमका अध्ययनमा पनि संकेत गरिनुपर्ने स्थिति आएको छ ।

पूर्वआधुनिक र आधुनिक दृष्टिले लम्बरेखामा विभक्त गर्ने हो भने नेपाली साहित्यको इतिहासलाई वि.सं. १९९० देखि समयलाई ऊध्र्वमुखी रेखामा राखेर पूर्वआधुनिक र १९९१ पछिको समयलाई अधोमुखी रेखामा राखेर आधुनिक भनेर अध्ययन गर्न सकिन्छ । अनि यसै समयसीमाका बिन्दुबाट छुट्टिने पूर्वआधुनिक साहित्यलाई तिर्यकीकरण गर्दा साहित्यभित्रका प्रवृत्ति, व्यक्ति, प्रतिभा, विषयगत स्वभाव लगायतका पक्षहरू व्यापकताबाट सीमिततातिर अभिमुख हुँदै गएको कुरा अध्ययनबाट पुष्टि हुने हुनाले साहित्येतिहास अध्ययनको स्थिति ऊध्र्वमुखी पिरामिडको रूपमा प्रकट हुन आउँछ । यस स्थितिलाई पनि प्रवृत्तिका दृष्टिले प्राथमिक र माध्यमिक कालका दुई रूपमा विभाजित गरेर अध्ययन गर्न सकिने स्थिति विद्वान्हरूले अघि सारेका छन् । यस प्रकारका मान्यतालाई यज्ञराज सत्याल (सत्याल २१), केशव प्रसाद उपाध्याय (उपाध्याय ४१), बालकृष्ण पोखरेल (पोखरेल १८) जस्ता इतिहास चिन्तकहरूले गरेका प्रयत्नका आधारमा नेपाली साहित्यको इतिहास लेखनले गति प्राप्त गरेको हो । यस क्रममा बालचन्द्र शर्मा, डिल्लीराम तिमसिना, ईश्वर बराल, दयाराम श्रेष्ठ लगायतका अध्येताले पनि यस पूर्वआधुनिक युगलाई प्राथमिक, माध्यमिक अथवा प्रारम्भिक, विकास आदि भनेर दुई समयमा खण्डीकरण गरे जस्तै आधुनिक युगलाई आधुनिक र उत्तरआधुनिक नभनी आधुनिक र नवचेतनावादी (श्रेष्ठ ३७) तथा समसामयिक (त्रिपाठी २४) जस्ता संज्ञा दिएर काम लिन गरेको कुरा पनि आज अध्ययनको विषय बनेको देखिन्छ । जहाँसम्म यस संक्षिप्त अध्ययनको प्रश्न छ । त्यसमा पूर्वआधुनिक यसगको ‘महाभारत’ स्रोतमा आधारित साहितय सृजनपरम्पराको संक्षिप्त चर्चा गर्दै नरेन्द्रनाथ रिमालको ‘महाभारत’ कृतिको संक्षिप्त समीक्षण गर्नुमा सीमित रहेको छ ।

महाभारतीय वस्तुस्रोतमा आधारित लेखन, सृजन, भावग्रहण, अनुवदन परम्परा लोक–साहित्यमै आरमभ् भएको हो । यस क्रममा कृष्णमा कथाहरू भन्ने, सुन्ने र पर्वपर्वमा नाचगान र मङ्गलकामनामा गाइने परम्परा आरम्भ भए पनि तिनले लिखित साहित्यमा विषयको रूप पाएको सन्दर्भचाहिं १९२८ मा शक्तिवल्लभ अर्यालले ‘विराटपर्व’ (बन्धु २४३) नेपालीमा आख्यानीकरण गरेपछि मात्र अगि बढेको देखिन्छ । नेपालीमा ‘महाभारत’ ले आख्यानको रूप आत्मसात् गर्ने परम्परा यसै मुहूर्तबाट आरम्भ भएको हो । यस दृष्टिले ‘महाभारत’ नेपालीमा पहिलोपल्ट गद्यमा अवतरित भएको बुझिन्छ । ‘महाभारत’ स्रोतका सृजना मात्र होइन, अनुवाद र सारग्रहणका विभिन्न उदाहरणहरू प्रशस्त उपलब्ध छन् । विराटपर्वका अतिरिक्त अज्ञात लेखकको ‘सभापर्व’ (बन्धु २४९), विनयानन्दको ‘गदापर्व’ (बन्धु २४९), ‘आदिपर्व’, ललितत्रिपुरसुन्दरीको ‘राजधर्म’ (बन्धु २४९), हीनव्याकरणी विद्यापतिको ‘गीतगोविन्दभाषा’ (१८८८), अनी त्यसै समयमा लेखिएको योगी अम्बर गिरीको ‘गीतगोविन्दभाषा’ (१८८९) रचनाकाल उल्लेख भएको तर लेखक पत्ता नलागेको ‘आदिपर्व’, भवानीदत्त पाण्डेको रचनाकाल १८९२ समय उल्लेख भएको ‘विराटपर्व’ ‘उद्योगपर्व’ र ‘शान्तिपर्व’, देवीधर शर्माको ‘सभापर्व’ (१९०२) उल्लेख्य सामग्री हुन् । ‘महाभारत’ का विभिन्न सन्दर्भ र आख्यान पुञ्जहरूलाई रचनाको आयतन दिई सृजना गर्ने क्रममा अज्ञात रचनाकारको ‘भागवत’ (१९०५) र ‘गजेन्द्रमोक्ष’ (१९०५), ‘भागवत दशमस्कन्ध’ (१९०८) ‘महाभारत विराटपर्व’ (१९२२), ‘गोपिकास्तुति भाषा’ (१९३७), लेखक नीलग्रीवानन्द उल्लेख हुने सामग्रीहरू हुन् । गद्यका अतिरिक्त त्यस्तै पद्य सन्र्दमा पनि नेपाली साहित्यमा प्राथमिक कालदेखि नै ‘महाभारत’ लाई उल्लेख्य सामग्री स्रोतको रूप दिने प्रचलन देखापर्दै आएको छ । यस लेखलाई त्यतैतिर अभिमुख बनाउनु वाञ्छनीय ठहर्ने हुँदा त्यसै दिशातिर प्रवर्तन गरिएको छ ।

नेपाली साहित्यको प्राथमिक काललाई पनि चरणगत दृष्टिले पहिलो, दोस्रो र तेस्रो चरण मानिएको छ । पहिलो चरण वीरभावनामा केन्द्रित रहेको देखाइएको छ भने दोस्रो चरण सगुण ईश्वरभक्ति प्रस्तुत गर्ने र तेस्रो चरण ईश्वरभक्तिको निर्गुण स्वरूप प्रतिपादन गर्ने चरण । जसअनुसार सगुण ईश्वरभक्तिको चरण कविताका सन्दर्भमा राम र कृष्णभक्ति परम्परामा केन्द्रित रहेको वैष्णभक्ति सम्प्रदायको प्रभाव नेपाली भक्तिसमाजमा देखापर्दा रामभक्ति र कृष्णभक्ति कविताका सन्दर्भमा लगभग एकै समयमा आरम्भ भएर विकसित बनेको देखिन्छ । ‘महाभारत’ विषयस्रोत बनेका कृष्णभक्तिलाई पहिलोपल्ट कवितात्मक रूप दिने कवि इन्दिरसले ‘गोपिकास्तुति’ (१९८४) तयार गरेका हुन् (बन्धु १७७) । लघु आकृति काव्यात्मक बिम्ब प्राप्त गरेको यस कवितामा नेपालीमा कृष्णभक्ति काव्यको आधारशिला तयार गरिदियो । विद्यारण्यकेशरीले पनि लगभग यसै समयमा ‘द्रौपदीस्तुति’ शीर्षकको पद्य ‘महाभारत’ स्रोतमा आधारित भएर रचना गरेका छन् । मिति स्पष्ट उल्लेख नभएको ‘युगलगीत’ शीर्षकको गोपिकास्तुति पनि उल्लेख्य सामग्री बनेर उपस्थित भएको छ । ‘महाभारत’ स्रोतमा काव्य–कविता निर्माण गर्ने उच्च पुरुष यस समयका निम्ति वसन्त शर्मा (आचार्य २३) पनि उल्लेख्य व्यक्तित्व हुन् । उनको ‘कृष्णचरित्र’ नामक काव्य उदाहरणीय कृति साबित भएको छ । शार्दूलविक्रीडित वर्णमात्रिक छन्दमा सरल ढङ्गले प्रवाहित बनेको काव्यस्तरको कृति ‘कृष्णचरित्र’ लेखेर काव्यात्मक उच्चता प्रदान गर्ने वसन्त शर्मा नेपाली कृष्णभक्ति साहित्यका विशिष्ट व्यक्तित्व हुन् । प्राथमिक काल कृष्णभक्ति साहित्यकै वरिपरि अवस्थित बनेको छ । त्यस्तै कृष्णकथालाई काव्यात्मक रूप दिने कवि वरिशाली पन्त पनि प्राथमिक कालका उल्लेख्य भक्ति कवि थिए । उनले नेपाली कवितामा ‘महाभारत’ स्रोतको उपयोग गरेका थिए भन्ने कुरा ‘कृष्णचरित्र’ शीर्षकमा तयार गरिएको काव्यकृतिले पुष्टि गर्दछ र यसको रचनाकाल १९०० वि.सं.को आसपास थियो भन्ने कुरा (बन्धु १८४) को पुष्टि मिल्दछ ।

नेपाली साहित्यको माध्यमिक कालका गद्यमा पनि ‘महाभारत’ आख्यान स्रोत उपयोग भएका सामग्रीहरू प्रशस्त उपलब्ध छन् । त्यस्ता सामग्रीहरूमा हरिहर शर्मा लामिछानेको ‘भगवद्भक्तिविलासिनी’ (१९४५), त्यस्तै चिरञ्जीवी शर्मा पौड्यालको ‘सुखार्णव’ (१९४६–१९५०), चक्रपाणि चालिसेको ‘संक्षिप्त महाभारत’ (१९७५) पनि उल्लेख्य वस्तु बनेका छन् । ‘महाभारत’ का विभिन्न पक्षहरूको नेपाली गद्यमा प्रस्तुत गर्ने परम्परा माध्यमिक कालमा पनि पर्याप्त कायम रहेको देखिन्छ । नेपाली उपन्यासको प्रारम्भिक धरातल निर्माण गर्ने कार्यमा पनि यस्ता सामग्रीहरूको उल्लेख्य योगदान रहेको छ ।

मोटामोटी रूपमा १९४० देखि १९९० को समयको आधा शताब्दी पूर्वआधुनिक नेपाली साहित्यको उत्तरवर्ती चरण अर्थात् माध्यमिक कालावधि हो । यस समयमा लौकिकदेखि अलौकिकसम्मका वस्तुहरूको प्रयोगबाट होमनाथ खतिवडा (१९११–१९८४) ले माध्यमिक कविता–काव्य सिर्जना आरम्भ गरेको पाइन्छ– महाभारतीय वस्तुस्रोतमा आधारित भएर । होमनाथ खतिवडाका ‘विराटपर्व’, ‘सभापर्व’, ‘कृष्णचरित्र’ जस्ता कृतिहरू प्रकाशमा आएका छन् (बन्धु ३४६) । वैयाकरण नेपाल (१९१२–१९७९) को ‘विराटपर्व’ (१९६१) पनि उल्लेख्य सामग्री हो । शिखरनाथ सुवेदी (१९२१–२००५) को ‘कर्णपर्व’ (१९६८) पनि उपलब्ध छ– ‘महाभारत’ वस्तुस्रोतमा आधारित कृति । मोतीराम भट्ट (१९२३–१९५३) का ‘गजेन्द्रमोक्ष’ (१९४८), ‘उषाचरित्र’ (१९५१) ‘प्रह्लादभक्तिकथा’ (१९५१ तिर) प्रकाशित भएका कृति हुन् । यिनमा भट्टले ‘महाभारत’ को आख्यान बीजलाई आधार मानेर सौन्दर्ययुक्त काव्य निर्माण गरेका छन् । विभिन्न पुराणहरूबाट वस्तु ग्रहण गरेर काव्य सिर्जना गर्ने भट्ट सौन्दर्यपूर्ण कृतिका स्रष्टा साबित भएका छन् ।  कुञ्जविलास गौतमका ‘महाभारत स्त्रीपर्व’ (१९६०), ‘महाभारत शल्यपर्व’ (१९५७), ‘महाभारत गदापर्व’ (१९६०) र ‘महाभारत सौप्तिकपर्व’ (१९६०) तथा ‘गुहसेनोद्वाह’ (१९५६), शशिमुखीलोहजङ्गोपाख्यान (१९५७) शीर्षकका कृतिहरू पनि प्रकाशमा आएका छन् । गोपीनाथ लोहनी (१९३०–१९७५) का ‘ध्रुवचरित्र’ (१९४६), ‘नृगचरित्र’ (ण्१९४९), ‘नलोपाख्यान’ (१९५५), ‘सत्यहरिश्चन्द्र’ (१९८१) जस्ता काव्यकृति नेपाली पद्यपरम्परामा ‘महाभारत’ को आधारमा सृजित भएका छन् । भवानीप्रसाद खतिवडा (१९३१–१९८९) को ‘विश्वनाथवर्णन’ (१९६०), ‘वराहवर्णन’ (१९६४) मा पनि महाभारतको आख्यान सन्दर्भ प्राप्त हुन्छ । रामप्रसाद सत्याल (१९३२–२०२०) को ‘महाभारत’ (२००६) पनि यस सन्दर्भको सामग्री हो । लामो र सिङ्गो विशाल ग्रन्थलाई पद्यबद्ध गरिदिने काम सत्यालले गरेका छन् । रेवतीरमण न्यौपाने (१९३३–१९९८) ले ‘विश्वजितलीला’ (१९५६) काव्य प्रस्तुत गरेका छन् । ‘महाभारत’ को सन्दर्भलाई कृष्णको चरित्रमा संयोजन गरेर काव्यात्मक रूप दिन न्यौपाने सफल बनेका छन् । केदारनाथ खतिवडा (१९३५–२००३) ले पन ‘महाभारत’ कथालाई काव्यात्मक रूप दिने प्रयत्न गरेका छन् । उनले लगभग सातहजार पद्य (बन्धु ३८०) सिर्जना गरेर ख्याति आर्जन गरेका छन् । यसै समयमा नरेन्द्रनाथ रिमा (१९३७–२००८) को ‘महाभारत’ (१९८५) पनि विशालकायमा अठारवटै पर्वको ग्रन्थ बनेर पाठकसामु उपस्थित भएको छ ।

‘महाभारत’ ग्रन्थका विभिन्न पर्वहरूलाई नेपालीमा छुट्टाछुट्टै काव्यात्मक रूप दिएर प्रस्तुत गर्ने कृष्णप्रसाद रेग्मी (१९४०–१९८५) का ‘उद्योगपर्व’, ‘आदिपर्व’ र ‘वनपर्व’ प्रकाशनमा आएका कृति हुन् । सरल र आकर्षक शैलीमा काव्यात्मक रूप दिन सफल बनेका छन्– कृष्णप्रसाद रेग्मी । त्यस्तै शम्भुप्रसाद ढुंगेल (१९४६–१९८६) का ‘श्रीमद्भागवत’, ‘कृष्णचरित्र’ जस्ता कृतिहरू उनका कृति सम्पादन गर्ने क्रममा घटराज भट्टराईले ‘आशुकवि शम्भु का कृति’ मा समावेश गरेका छन् । अठारवटै पर्वलाई पद्यमा ढालेर निर्माण गरेका ‘महाभारत’ को चर्चा छ । उनका नाममा प्रकाशित ‘आदिपर्व’, ‘सभापर्व’, ‘द्रोणपर्व’ र ‘कर्णपर्व’ मात्र उपलब्ध (बन्धु २०८–९) छन् । बाँकी पर्वहरू खोज्नुपर्ने विषय बनेका छन् । ‘महाभारत’ को यो लामो पद्यबद्ध नेपालीकरण गर्नेहरूका पङ्क्तिमा देखापरेका पं. नरेन्द्रनाथ रिमालको ‘महाभारत’ कृतिको समीक्षणात्मक लेखनका सन्दर्भमा यो रचना तयार भएको छ ।

स्रष्टा व्यक्तित्व : नरेन्द्रनाथ रिमाल
विक्रमसंवत् १९३७ मा नुवाकोटमा जन्मेका रिमाल बनारसमा पुगेर शिक्षादीक्षा आर्जन गरेका व्यक्तित्व हुन् । आफ्ना सहोदर भाइ काशीनाथसमेतको संलग्नतामा प्रकाशन व्यवसाय संचालन गर्ने प्रतिभा हुन् । पहिले ‘श्रीमद्भगवद्गीता’ (१९७६) नेपालीमा रूपान्तरित गरेर कविका रूपमा परिचित बनेका रिमाल ‘महाभारत’ (१९८५) का अठारवटै पर्व पद्यबद्ध गर्ने स्रष्टा व्यक्तित्व देखिएका छन् । नेपाली भाषामा ‘महाभारत’ पद्यबद्ध गर्ने कवि रिमा उल्लेख्य प्रतिभाका रूपमा देखिएका छन् । उनले पहिलो विश्वयुद्धविषक घटनालाई पद्यबद्ध गर्ने काम गरेका छ् र ‘युरोपीय महाभारत जर्मनिका लडाञीको सवाइ’ शीर्षकमा प्रकाशित गराएका छन् । यो पनि सिर्जनात्मक सामग्री हो ।

‘महाभारत’ जस्तो विशाल ग्रन्थलाई पद्यबद्ध गर्ने व्यक्तित्व रिमालमा नेपाली शब्दभण्डार तथा वर्णमात्रिक छन्दको लययोजना पाइन्छ, छन्दशास्त्रको विधिज्ञानको पर्याप्त उपस्थिति उनका काव्यशिल्पमा भेटिन्छ । नेपाली साहित्यको माध्यमिक कालमा ऊर्जाशील व्यक्तित्व बनेर रहेका रिमालका उपर्युक्त कृतिहरूमध्ये ‘महाभारत’ को मात्र यस सन्दर्भमा सामान्य ढङ्गले समीक्षा गर्ने जमर्को गरेको छु । त्यसमा केही झिनामसिना कुराहरू पनि एकातिर पन्छाएर मूल सन्दर्भमा केन्द्रित हुनु उपयुक्त देखिन्छ ।

नेपालीमा प्रयुक्त छन्दहरूको प्रयोगमा कवि रिमाल शार्दूलविक्रीडित छन्द प्रयोग दृष्टिले भानुभक्त जस्तै क्रियाशील देखिएका छन् । तर यिनको छन्द प्रयोग गीताको प्रभावका कारण अनुष्टुभ् छन्दको प्रयोगका कारण भानुभक्तको सापेक्षतामा भिन्न पनि बोध हुने देखिएका छन् । पृथ्वी छन्दलाई भानुभक्तले कम मात्र प्रयोग गरेका छन् भने रिमालले यसको पनि प्रयोग गरेका छन् । वर्णमात्रिक छन्दको प्रयोग नेपाली साहितयको उपयोगका निम्ति सहायक सिद्ध बनेको छन्द परम्परामै रिमालको कलम क्रियाशील बनेको छ । ‘महाभारत’ र ‘रामायण’ तथा अन्य पौराणिक सामग्रीहरू समेत नेपाली कविता–काव्यका स्रोत बनेर उपस्थित भएका छन् । यसरी उपस्थित भएको प्रस्तुत कालखण्डमा प्रशस्त ऊर्जा थप्न सफल सामग्री सिद्ध भएका छन् । यस दृष्टिले रिमाल पनि उल्लेखनीय व्यक्तित्व सिद्ध हुन्छन् ।

महाभारतमा काव्यतत्वको उपयोग
प्रस्तुत ‘महाभारत’ कृतिमा रिमालले आवश्यकता अनुसार विषयवस्तुको उपयोग र छटनी पनि गरेका छन् । कृष्णप्रसाद रेग्मीले रचना गरेको ‘वनपर्व’ को सापेक्षतामा जटिल र कृत्रिम अनुभव हुन्छ । यस कृतिमा विषयको चयन पनि सीमित गर्न प्रयत्न गरिएको छ । उदाहरणका निम्ति कृष्णप्रसाद रेग्मीले ‘वनपर्व’ मा शृङ्गऋषि र नलदमयन्तीको आख्यान सन्दर्भ सहज ढङ्गले प्रस्तुत गरेका छन् । त्यस्तै सगर राजाको वर्णन सविस्तर प्रस्तुत गरेका छन् । त्यस्तै सन्दर्भहरूमा यहाँ कतिपय सन्दर्भहरू चञ्चुप्रवेश मात्र भएका छन् र कतिपय सन्दर्भहरूचाहिं पूरै छुटेका पनि छन् । एउटा बृहत्तम कायको स्रोतग्रन्थलाई बीसौं भाग सानो आकृतिमा समेट्न प्रयन्त गर्दा आइपर्ने यस्ता समस्याहरूलाई दृष्टिगत गरेर उल्लेख्य उपलब्धि मान्नु नै उपयुक्त देखिन्छ ।

‘महाभारत’ को वस्तुस्रोतमा केन्द्रित सृजनाधर्ममा भावग्रहण, रूपान्तरण र अनुवाद नै परम्पराको एउटा कडी बनेर आएको प्रस्तुत कृति नेपाली साहित्य भण्डारको महत्वपूर्ण सम्पदा हो । सामान्य पठित पाठकहरूलाई ‘महाभारत’ को समग्र थावस्तुको सूचना प्रदान गर्ने दिशामा यस कृतिको उपयोगिता आफैंमा उल्लेख्य रहेको छ । एकातिर दैवी भक्तिभावनाबाट प्रेरित पाठकलाई यसले पर्याप्त आकर्षण गनृ सक्छ भने अर्कातिर कथावस्तुको शृङ्खला बोध गर्न चाहने पाठकलाई पनि सहयोग पु¥याउँछ । पूर्वीय सभ्यताको प्राचीन धरातल अन्वेषण गर्ने, समीक्षात्मक अनुसधान गर्ने र काव्यिक सौन्दर्ययुक्त नेपाली भाषाको विवेचना गर्ने अनुसन्धाताहरूलाई त यसले अवश्य प्रेरणा प्रदान गर्दछ, थप आध्यात्मिक चिन्तनमा निमग्न पाठकहरूलाई पनि खुराक प्रदान गर्दछ । यस कारण प्रस्तुत ग्रन्थको उपादेयता आफ्नो ठाउँमा विशिष्ट रहेको छ ।

यस कृतिमा व्याकरण र वर्णविन्यासको स्थिति
रिमालले प्रस्तुत कृति तयार गरेको समय माध्यमिक कालको कालावधि हो । यस काव्यकृतिको सृजनामा प्रयुक्त भाषिक स्वभावलाई पाण्डुलिपिको रूपबाट व्याख्या गरिनु उपयुक्त हुन्छ । यसो हुँदाहुँदै पनि यस अध्ययनमा त्यहाँसम्म पुग्ने चेष्टा गरिएन । प्रकाशनमा आवश्यक सामग्रीको आधारमा मात्र अध्ययन गर्दा छन्दको नियम अनुसरण गर्न प्रस्तुत कृतिलाई नै केन्द्रमा राखेर अध्ययन गर्न प्रयत्न गरेको छु । त्यस दिशामा दृष्टि दिंदा शब्दहरूको वर्णविन्यासमा पूरै नियम भङ्ग भएको देखिन्छ । त्यस्ता स्थितिहरू हलन्तको अजन्तीकरण, अजन्तको हलन्तीकरण, संयुक्त व्यञ्जनमा स्वरागम र स्वरयुक्त व्यञ्जनको स्वर–लोपीकरण, ह्रस्व वर्णको दीर्घीकरण र दीर्घवर्णको ह्रस्वीकरण जस्ता कामहरू प्रशस्तै भएका छन् । यस स्थितिमा हेर्दा कवि रिमालले नेपाली व्याकरणको परम्परालाई पालन गर्ने दिशातिर त्यति ध्यान नदिएको बोध हुन्छ । १९६९ मा हेमराज पाण्डेको ‘चन्द्रिका’ व्याकरण र १९७६ मा सोमनाथ सिग्द्यालको ‘मध्यचन्द्रिका’ व्याकरण प्रकाशनमा आइसकेको अवस्थामा लेखिएको यस ग्रन्थले व्याकरणको नियम परिपालन गर्नेतर्फध्यान दिँदै नदिएको अनुभव हुन्छ । साथै लेखनाथ पौडेलको पद्यसृजनाप्रतिको लगाउसँगै हलन्त बहिस्कारको अभियानको तीव्रतापूर्ण विकासप्रति पनि रिमालको दृष्टि क्रियाशील नबनेको देखिन्छ । उदाहरणका निम्ति केही सन्दर्भहरू प्रस्तुत गर्नु उपयुक्त हुन्छ :

१)    ह्रस्वको दीर्घीकरण : यूधिष्ठीर पनी दिएर तनमन् इन्साफ गर्ने तिनी (आदिपर्व ३६३) । यस पङ्क्तिमा ह्रस्व तत्सम वर्णविन्यास गरिनुपर्ने युधिष्ठिर दीर्घ बनाइएको र नेपाली योजक पनि शब्दको निलाई दीर्घ बनाएर प्रयोग गरिएको छ । यो काम अनन्त ठाउँमा भएको छ ।
२)    अजन्तको हलन्तीकरण : धृत्राष्ट्रका सयम कुमार् अरु लोक जीती (आदिपर्व ३८०) । यस पङ्क्तिमा छन्दको मोहमा धृतराष्ट्र, कुमार जस्ता अनिवार्य रूपमा अजन्त रहनुपर्ने शब्दहरू यहाँ हलन्त प्रयोग भएका छन् ।
३)    दीर्घ वर्णको ह्रस्वीकरण : यज्ञैमा ति बसे श्रिभागिरथिको वारी किनारामहाँ (आदिपर्व ४७६) । प्रस्तुत पङ्क्तिमा ती र वारिको रि नेपालीका पेवा शब्दका वर्ण हुन् । तिनलाई ह्रस्व र दीर्घमा प्रयोग गरिएको छ र भागीरथीका गी र थी मात्र होइन श्री वर्ण पनि ह्रस्व भएर उपयोग भएका छन् ।
४)    हलन्तको अजन्तीकरण : लैजान तत्पर भई सनताप दीयो (विराटपर्व ७९) । यस पङ्क्तिमा सन्ताप शब्दको ‘न्’ हल् बनेर संयुक्त रहनुपर्ने वर्ण हो । तर यहाँ स्वरागम गरी पूरै ‘सनताप’ बनाएर प्रयोग गरिएको छ । त्यस्तै मेरो जा आश्रयै लीने नीच कूलै जनम् पनि (भीष्मपर्व, अध्याय १०÷३२)

यस पङ्क्तिमा जन्म शब्दको संयुक्त वर्णका रूपमा प्रयोग हुने न् पूरै न वर्णका रूपमा प्रयाग भएको छ । अर्को उदाहरण –

मार्थे श्रिकृष्ण अरु सोम्वङशी थकाई (गदापर्व १९)

यस पङ्क्तिमा पनि सोमवंशी शब्दको अनुस्वारयुक्त वं वर्णलाई वङ बनाई प्रयोग गर्नाले स्वरागम गरी अजन्तीकरण गरिएको छ ।

विनियमित ढङ्गले निर्माण भएका यस्ता प्रसङ्गहरू प्रशस्तै भेटिन्छन् । श, स, ष का स्थिति र प्रयोगहरू, य र ए का स्थिति र प्रयोगहरू, व र ब, उ र व का स्थिति र प्रयोगहरू, पदयोग र पदवियोगका स्थिति र प्रयोगहरू प्रशस्तै विभग्न बनेका छन् । स्वच्छन्द लेखनको सिर्जित प्रस्तुत कृतिमा काव्यात्मक कलाको छटा भने धेरै ठाउँमा प्राप्त गर्न सकिन्छ ।

महाभारत आख्यान संयोजन
‘महाभारत’ अठार पर्वको समीक्षण गर्ने क्रममा यसको वस्तुसंयोजनको स्थितिलाई संक्षिप्त निरूपण गरिनु उपयुक्त हुने कुरामा विश्वस्त बनेको देखिन्छ । प्रस्तुत ग्रन्थ ‘महाभारत’ का अठारवटा पर्वलाई सोही मुताबि संख्या र संज्ञामा वर्गीकरण गरिएको छ । पहिलो र्व व्यासकृत ‘आदिपर्व’ रहेको छ । सबै पर्वहरूलाई अध्यायको सूचकाङ्कबाट मुक्त गरे पनि ‘भीष्मपर्व’ को गीता खण्डका अठारवटा अध्यायलाई जतिको ततिमै व्यवस्थापन गरिएको छ । पहिलो पर्व ‘माहात्म्य’ प्रसङ्गबाट उठान गरेर चौधवटा प्रकरणमा यसलाई व्यवस्थापन गरिएको छ । दोस्रो पर्व ‘सभापर्व’ सभाको तयारीबाट आरम्भ भएर प्रकरणमा विभक्त हुँदै पाण्डवको वनगमनमा पुगेर टुङ्गिएको छ । तेस्रो पर्व ‘वनपर्व’ हो र यो पर्व पाण्डवहरूको वनवास यात्राका निम्ति काम्यक वनमा प्रवेशको प्रकरणबाट युधिष्ठिरले गुप्तवास जाने निर्णय गरेसम्मका प्रसङ्गमा केन्द्रित तेह्रवटा प्रकरणमा विभाजित भएर तयार भएको छ । चौथो पर्व ‘विराटपर्व’ हो । यस पर्वको पहिलो प्रकरण विराट राजाको दरबारमा पाण्डवहरूको प्रवेशबाट आरम्भ भएर छवटा प्रकरण पार गर्दै अभिमन्यु र उत्तराको विवाहमा पुगेर टुङ्गिएको छ । ‘महाभारत’ को चौथो पर्व ‘उद्योगपर्व’ हो र यो शान्ति र मिलनको प्रस्तावबाट आरम्भ भएर दशवटा प्रकरणमा व्यवस्थित हुँदै रणको तिथिमिति र नीति निश्चित भएको अवस्थामा पुगेर समाप्त भएको छ । महाभारतको सबैभन्दा लामो पर्व ‘भीष्मपर्व’ को नामबाट परिचित छ । यो पर्व सङ्ग्रामको नियम पारित भएको प्रकरणबाट आरम्भ भएर तेत्तीसवटा प्रकरण पार गर्दै भीष्म पितामहले शरशय्या ग्रहण गरेसम्म पुगेर विरत बनेको छ । सातौं पर्व ‘द्रोणपर्व’ हो र यसको आरम्भ द्रोणलाई सेनापति वरण गरेको प्रसङ्गबाट भएको छ । क्रमशः नौवटा प्रकरणमा व्यवस्थित यो पर्व अश्वत्थामाले शस्त्र परित्याग गरेको प्रसङ्गमा पुगेर अडेको छ । आठौं पर्व ‘कर्णपर्व’ नामबाट परिचित छ । पाँचवटा प्रकरणमा संरचित यो पर्व कर्णले सेनापतित्व ग्रहण गरेदेखि आरम्भ भएर कर्णवधमा पुगी समाप्त भएको छ । नवौं पर्वमा ‘शल्यपर्व’ पर्दछ । शल्य नरेश सेनापति भएको प्रकरणबाट आरम्भ भएको यो पर्व शल्यको निधनमा पुगरे सकिएको छ । दुर्योधन पलायन भएको सन्दर्भबाट आरम्भ भएको ‘गदापर्व’ दुर्योधन र कृष्णका विवादसम्मका तीनवटा प्रकरणको प्रस्तुतिमा पुगेर टुङ्गिएको छ । यहाँसम्म ‘महाभारत’ युद्ध नियमानुसार परिचालित बनेको छ तर यसभन्दा पछिका सन्दर्भहरूमा नैतिक मर्यादा र भीष्मद्वारा व्यवस्थित भएका युद्ध नियमहरू भङ्ग बनेका छन् ।

युद्ध नियम विभग्न बनेको ‘सौप्तिकपर्व’ एघारौं पर्व हो । यस पर्वमा अश्वत्थामाको प्रतिज्ञा र पाण्डवपुत्रको मरणको प्रसङ्गमा पुगेर दुवै प्रकरणमा टुङ्गिएको छ । ‘महाभारत’ को बाह्रौं पर्व ‘ऐषिकपर्व’ शीर्षकमा तयार भएको छ । यसमा छोराहरूको हत्याबाट पीडित द्रौपदीको विलाप छ र अश्वत्थामाको मणि हराएको एउटै प्रकरणमा समाप्त भएको छ । ‘स्त्रीपर्व’ शीर्षकको तह्रौं पर्वमा धृतराष्ट्र र सञ्जयको संवाद, मृत वीरहरूको स्मृतिमा तिलाञ्जलि दिने र कृष्णलाई गान्धारीले श्राप दिएको दुईवटै प्रकरणमा समाप्त भएको छ । ‘शान्तिपर्व’ शीर्षकको चौधौं पर्व युधिष्टिर राज्य छोडेर वन जान तयार भएको, भीष्मको शान्ति वर्णनको समेत उपस्थापन गरिएका पाँचवटा प्रकरणमा समाप्त भएको छ । ‘अनुशासनपर्व’ ‘महाभारत’ ग्रन्थको पन्ध्रौं पर्व हो । यस पर्वमा राज्यसञ्चालन, जीवननिष्ठा लगायतका प्रश्नहरू जम्मा तीनवटा प्रकरणमा व्यवस्थित भएका छन् । ‘अश्वमेधपर्व’ शीर्षकमा अश्वमेधको घोडा विचरण र संरक्षणसम्मका चारवटा प्रकरणमा चक्रवर्तीत्व सिद्ध भएको प्रसङ्ग उल्लेख भएको छ । ‘आश्रमवासिकपर्व’ शीर्षकमा युधिष्ठिरले धृतराष्ट्रलाई सम्मानपूर्ण जीवन यापन गर्ने व्यवस्था मिलाएको र धृतराष्ट्र, विदुर र कुन्तीसमेत वानप्रस्थ जीवनमा प्रवेश भएसम्मका पाँचवटा प्रकरणमा प्रस्तुत भएका कथामा पुगेर टुङ्गिएको छ । ‘स्वर्गारोहणपर्व’ संज्ञामा प्रस्तुत सन्दर्भ ‘महाभारत’ को उपसंहार हो । यसमा प्रस्थान जीवनोत्सर्गका दुईवटा प्रकरणहरू व्यवहृत भएका छन् । यसरी महर्षि व्यासकृत एकलाख पद्यमा व्यवस्थित कृतिलाई रिमालले लगभग नब्बे प्रतिशत संक्षिप्त आयतनमा समायोजित गरेर कथात्मक बिम्ब प्रदान गर्ने काम गरेका छन् । ‘महाभारत’ को पद्यबद्ध महाआख्यानलाई यहाँ पनि पद्यबद्ध र संक्षिप्त रूपमा प्रतिपादन गर्ने काम भएको छ ।

छन्दका प्रकार र तिनको योजना
वर्णमात्रिक छन्दको संयोजनमा तयार गरिएको प्रस्तुत महाभारत कृतिमा जम्मा दसवटा छन्दहरू प्रयोग भएका छन् । छन्दाको नियम परिपालनका अर्थमा गणगणना र लघुदीर्घमात्राको तर्जुमा गर्ने क्रममा रिमालले भाषाका व्याकरणिक मर्यादालाई उपेक्षा गरेर छन्दशास्त्रको विधिलाई प्राथमिकता साथ परिपालन गर्ने प्रयत्न गरेका छन् । यस सिलसिलामा उनको व्याकरणिक नियमको विभग्नता अगिल्ला प्रसङ्गहरूमा उल्लेख भई नै सकेको छ । यहाँ प्रत्येक पर्वमा ती छन्दहरूको प्रयोगको स्थितिलाई तालिकाबद्ध गरेर प्रस्तुत गर्ने मात्र प्रयत्न भएको छ :

क्रम

पर्व

शार्दूल

वसन्तति.

शालिनी

पृथ्वी

शिखरिणी

वंशस्थ

अनुष्टुभ्

इन्द्रवज्रा

द्रुतविलम्बित

स्वागता

जम्मा

आदिपर्व

३६३

१०४

५७६

सभापर्व

१२२

२७

१३

१६४

वनपर्व

१२४

५८

१०३

२८५

विराटपर्व

१२२.५

३९.५

१६२

उद्योगपर्व

१६३

१०१

४५

२८

३३७

भीष्मपर्व

४१९

२१

४०

२५

६३८

२७

११७७

द्रोणपर्व

५३७

१०

२६

५७३

कर्णपर्व

४६८

३७

५०५

शल्यपर्व

७२

७२

१०

गदापर्व

९९

२०२

३०१

११

सौप्तिकपर्व

१५

८३

९८

१२

ऐषिकपर्व

५१

५६

१३

स्त्रीपर्व

७५

११

११

९७

१४

शान्तिपर्व

१७२

१७३

१५

अनुशासनपर्व

७५

३७

११२

१६

अश्मेधपर्व

९५

६४

१५९

१७

आश्रमवासिकपर्व

९४

२७

१४

१३५

१८

मौसलपर्व

६१

२७

८९

१९

स्वर्गारोहणपर्व

३८

२८

६६

२०

लेखकपरिचय

२१

जम्मा पद्य

२९५७.५

९८१.५

६३

२३१

२०८

२८

६३९

२७

५३३८

द्रष्टव्य : कतिपय चतुष्पदी पद्यहरूलाई द्वि वा त्रिपदीय अवस्थामा प्रस्तुत गरिएको छ र कतिपय द्विपदीय पद्यहरूलाई त्रि वा चतुष्पद अवस्थामा पनि प्रस्तुत गरिएको छ ।

विभाषीय शब्द प्रयोग र अनुप्रासयोजना
पद्य विधानमा आवश्यक पर्ने प्राविधिक पक्षहरू हुन्– समानुपाति वर्णतिरण, गणसमूह सन्तुलन, यति र गतिको समुचित व्यवहार, अन्त्य र मध्य अनुप्रासयोजना । यी लगायतका प्राविधिक पक्षहरू प्रयोग गर्दा छन्दयोजनालाई प्राथमिकता दिएर यो कृति तयार गरिएको छ । यस क्रममा विभाषीय शब्दहरू, विभाषी विभक्तियोजना र पदयोग वियोगका सन्दर्भहरू पनि उल्लेख्य ढङ्गले प्रयोग भएका छन् । त्यस्मा केही उदाहरणहरू निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :

क)    लेकिन् : तर, यद्यपि, हुन् आदि शब्द प्रयोग भएका खण्डमा योजकको सार्थकता विशिष्ट रूपमा प्रकष्ट हुने ठाउँमा लेकिन योजक प्रयोग भएको छ । जस्तै : लेकीन

हेधरमवान् अन्ध याहाँ (आदिपर्व १३२)
लेकिन् मिलने दिलको फल तीनिलाई (आदिपर्व ५५८)

वर्णविन्यासमा अनेकरूपमा त छँदैछ, अगिल्लो लेकिन दीर्घ र विना हलन्त उच्चारणमा प्रयोग भएको छ भने पछिल्लो लेकिन ह्रस्व र हलन्तयुक्त उच्चारणमा प्रयोग भएको छ । यसरी नै विभक्तिका रूपहरूको प्रयोगमा पनि द्वितीया र चतुर्थीको कर्म र सम्प्रदानमा प्रयोग हुने लाई का स्थानमा सम्बन्धमा प्रयोग हुने को प्रयोग भएको छ जस्तै :

शब्दै वेग मयुर्सरी हय गए यस्का पछी हीम्वत (सभापर्व ३१)
शुक्तीमान् पर्वत्को विजय गरि काशीपुरी गए (सभापर्व ४२)
बुझाई तीनीको हरतरहले कोसिसमहाँ (उद्योगपर्व)

‘यस्का शब्द प्रयोग भएको प्रथम पंक्तिमा ‘का’ को अर्थ द्वितीया अर्थात् कर्मकारक सूचक ‘लाई’ रूपको अर्थमा ग्रहण गरिएको छ । द्वितीय पङ्क्तिको पर्वतको शब्दको को पनि ‘लाई’ रूपको अर्थमा ग्रहण गरिएको छ । त्यस्तै तृतीय पङ्क्तिको ‘तीनीको’ रूप सम्प्रदान कारकको ‘लाई’ रूपको प्रयोगमा ग्रहण गरेको छ ।

ख)    आनुप्रासिक योजनाका रूप : पंक्तिको अन्त्यमा कम्तीमा पनि दुई पंक्तिमा दुई वा दुईभन्दा पनि बढी स्वरवर्णको समप्रयोगले काव्यलाई सौन्दर्य प्रदान गर्ने काम भएको देखिन्छ । उदाहरण निम्ति र्दु समस्वरान्त पंक्ति–

बोले अर्जुनले बृहन्नल म हूँ नाच्गानमा खुब् गरी ।
ठूलो कूशल छू हूकुम् यदि भए राज्पुत्रिको राम्ररी । (विराटपर्व १६)

पंक्तिका अन्तमा चार समस्वर प्रयोग भएका पद्यः–

प्रभावै गढ्नै गो हृदय तिनिको सूब्सित भरी
प्रभूले पक्षै ली धरम निमतीकै दुई थरी ।
हितैलाई राखी ऋषि मुनि गुणीको तहिं धरी
सभा भो कौरव्ले सबकन त फेर पूजन गरी ।। (उद्योगपर्व २२९)

यसरी रिमालले सृजनामा अनुप्रासयोजनालाई पनि सचेततापूर्वक प्रयोग गरेका छन् । यति हुँदाहुँदै पनि हिन्दीका पद र पदावलीको प्रभाव धेरै देखिनु रिमालको भाषिक प्रयोगको असचेतता भने निकै बढी नै प्रदर्शित हुन आउँछ । के रे, भैया, चिल्लाउनु, पुछ्नु जस्ता पद प्रयोगका कारण रिमालको पद्यकारितामा हिन्दी भाषाको प्रयोगको अवशेष धेरै ठाउँमा प्राप्त गर्न सकिन्छ । यस प्राप्तिले कतिपय उच्चाइलाई ऋणात्मक तुल्याए पनि कवि रिमालको ‘महाभारत’ नेपाली ‘महाभारत’ काव्यकरणको परम्परामा निकै सफल सामग्री बनेर उपस्थित भएको छ ।

समापन
नेपाली साहित्यको माध्यमिक काल भक्तिमूलक, शृङ्गारिक, स्वैरकल्पनात्मक र तिलस्मीमूलक लेखनमा विभक्त भएको समय हो । भक्तिभावको केन्द्रमा प्रकृति र पुरुष जस्ता दैवी शक्तिको सगुण अवतारमा देवी र राम कृष्ण जस्ता देवतत्वलाई सृजनाको केन्द्र बनाएर आफ्नो कलम दगुराउन सफल स्रष्टा हुन्– नरेन्द्रनाथ रिमाल । रिमालका उपर्युक्त प्रवृत्तिका कुनै न कुनै केन्द्रमा सिर्जित रचनामा देवत्वको वस्तु प्रतिपादित भएका छन् । ‘महाभारत’ को वस्तुलाई टिपेर काव्यात्मक रुप प्रदान गर्ने प्रतिभाहरुमध्ये रिमाल अग्रणी व्यक्तित्व सिद्ध भएका छन् । यस्ता विशेषताहरुमा रिमालको लेखन कार्यलाई मूल्याङ्कन गर्ने क्रममा यो लेख यसै रुपमा तयार भएको छ ।

सन्दर्भसामग्री
आचार्य, बाबुराम (२००३) पुराना कवि र कविता, काठमाडौं, नेपाली भाषा प्रकाशिनी समिति ।
उपाध्याय, केशवप्रसाद (२०३२) प्राथमिककालीन कवि र काव्यप्रवृत्ति, ललितपुर, साझा प्रकाशन ।
पोखरेल, बालकृष्ण (२०५४) पाँचसय वर्ष, ललितपुर, साझा प्रकाशन ।
त्रिपाठी, वासुदेव र अरु (२०५४) नेपाली कविता भाग ४, (सं.) ललितपुर, साझा प्रकाशन ।
बन्धु, चुडामणि (२०६०) नेपाली साहित्यको इतिहास (सं.) काठमाडौं, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
शर्मा, तारानाथ (२०४३) नेपाली साहित्यको इतिहास, काठमाडौं, सङ्कल्प प्रकाशन ।
शर्मा, शरद्चन्द्र भट्टराई (२०५०) माध्यमिक नेपाली गद्याख्यान, काठमाडौं, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।
श्रेष्ठ, दयाराम (२०५९) साहित्यको इतिहास : सिद्धान्त र सन्दर्भ, काठमाडौं, त्रिकोण प्रकाशन ।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित