यो संस्करण बारे

नेपाली भाषामा सम्पूर्ण अठारै पर्व महाभारत पैल्होपल्ट छन्दवद्ध गर्ने हाम्रा बाबा श्री नरेन्दनाथ उपाध्यायज्यूको जन्म त्रिशुली कठेरी, फिर्केप हाल जिल्ला नुवाकोटमा सम्वत् १९३७ मा भई शिक्षा दीक्षा काठमाडौँ र बनारसमा भएको थियो । सम्वत् १९६८ मा तत्कालीन निजामति सेवाको चारपास गरेर उहाँले मुखिया पदमा सरकारी जागिर खानु भयो । जागिरका क्रममा उहाँ तौलीहवामा केही वर्ष बस्नुभयो । तर तराईको हावापानीले गर्दा औलोले समातेर बिरामी भै चिकित्साको लागि काशी जाँदा श्री ३ महाराज चन्द्रशमशेरले त्यहाँ क्याण्टोनमेण्ट इलाका नजिक वरूणा नदिको किनारमा रहेको दरबार किनेकोमा त्यहीँ जागिर पाउन सफल हुनुभयो त्यसै ठाउँमा रही २००८ साल अषाढ कृष्ण दशमीका दिन स्वर्गवास हुनुभयो ।

नेपाली भाषामा महाभारत श्लोकबद्ध गर्ने काम उपरोक्त थलोमा सम्पन्न भएको कुरा र सम्पन्न भएको मिति बाबाले महाभारत ग्रन्थको अन्तमा दिएको निम्नलिखित श्लोकबाट स्पष्ट हुन्छ ।

“द्धापको रण यो शताब्दि विशको येकासि सालैमहाँ ।
गोर्खा भारत श्लोकबद्ध हुनगो अठ्ठार पर्वै यहाँ ।।
यूरोप भारत जर्मनी कलि समर सन्धी छवर्षै गई ।
मुक्ती सगम काशिमा बनि गयो यो ग्रन्थ वूर्णै भई ।।”

यस महाभारतमा बाबाद्धारा शार्दूलविक्रीडित, शिखरिणि, पृथ्वी, वसन्ततिलका, द्रतविलम्बित, इन्द्रबज्रा, शालिनी, वशस्थ, स्वागता, उपजाति र अनुष्टुप् गरी ११ वटा छन्दमा श्लोकबद्ध गर्नुका साथै एक ठाउँमा गजलमा पनि रचना गरिएको छ ।

यसै महाभारत अन्तर्गतपर्ने श्रीमदेभगवद्गीताको छुट्टै संस्करण सर्वप्रथम प्रकाशन भएको पुस्तमा श्री ३ महाराज चन्द्रशमशेरलाई गरेको समर्पणमा कविले श्री३बाट मातृभाषाकै उन्नतिका लागि गोर्खा समिति, स्कूल, पाठशाला आदिको बन्दोबस्तको जिकिर गर्दै शुभकामना प्रकट गरेको पत्रबाट निजको भाषाप्रतिको प्रेम प्रकट हुन्छ । लेखकले देशविदेश मातृभाषाको बलले ठूलो–ठूलो पदमा पुगको र हाम्रो मातृ भाषा पनि चाडै उन्नतिका शिखरमा पुग्नेछन्  जस्ता अभिव्यक्तिमा भाषाको महत्व र भाषाको विकासमा कविको आशावादिताको झ्लक पाइन्छ ।

कविको अन्य कृतिहरूमा “युरोपीय महाभारत” पूवाद्र्ध र उत्तराद्र्ध गरी २ भागमा लेखिएको पुस्तकहरू हुन् ।

यस महाभारतको प्रथम प्रकाशन बी.एल. पागवी हितचिन्तक प्रेस रामघाट काशीबाट मुद्रण भएको थियो । त्यसपछिका अन्य संस्कण हरू बनारसकै राधोराम शर्मा सर्वहितैषी प्रेसबाट छापिदै आएका थिए । इस्वी सन् ५८/६० तिर उक्त प्रेसले पुस्तकमा अर्कैले लेखेको बनपर्व थपी कविको नाम नराखी संस्करण प्रकाशित गरेकोमा फौजदारी ऐनअन्तर्गत वाराणसी जिल्ला अदालतमा मुद्दा चलाइयो । उक्त अदालतले दिएको फैसला अस्पष्ट हुनाले इलाहाबाद उच्चा न्यायलयमा अपील गरियो । इलाहाबाद उच्च न्यायालयले पुस्तक नरेन्द्रनाथ रिमालले लेखेको ठहर गर्यो । त्यसै बखतदेखि छोराहरूले आफै प्रकाशन गर्ने इच्छा राखे तापनि अनुकूल नमिल्दा वल्ल सुयोग प्राप्त भई आफ्नै बाबाको कीर्ति राख्न यो संस्करण बाबाको ५० औँ पुण्यतिथिमा प्रकाशित गरिएको छ ।

पुस्तक प्रकाशनमा श्री मदज पुरस्कार पुस्तकालयबाट बी.एल. पावगी रामघाट बनारुद्धारा मुद्रित पहिलो संस्करण प्राप्त गरी टाइप गराउँदा केही मुद्रणका भुलहरू पाइयो । त्यो सच्याउनका साथै शब्दहरूमा एकरूपत ल्याउन कविले प्रयोग गरेका एकै शब्दका विभिन्न हिज्जेहरूमध्ये बढी प्रयोग भएको एक छानिएको छ । जस्तो (वावण र बाण मा बाण, वन र बन मा वन, शहर र सहर मा सहर यसको अतिरिक्त वर्तमान नेपाली हिज्जेलाई पनि ध्यानमा राखी वाण वर्षाए लाई वण बर्साए नै राखिएको छ । शब्द इ लाई यि र ई लाई यी गरिएको छ भने मध्यान्ह, मध्यान्न भएको छ । तञिले तइँले भएको छ भने मैञा मैयाँ भएकी छिन् । यसै गरी ञहाँ यहाँ भएको छ । यस्तै अरू केही शब्दहरूका हिज्जे पनि फेरिएका छन । श्लोकहरूमा आपसमा जोडिएका शब्दहरू छुट्टाछुट्टै गरिएका छन् ।

आफूले नेपाली भाषाको समुचित शिक्षा प्राप्त नगरेको कारण विभिन्न साहित्यप्रेमी बिद्धत्जनबाट सरसल्लाह र मागदर्शन पाइयो । यसमा श्री कमलमणिज्यू, श्री अच्युतरमणि अधिकारीज्यू, प्रा. डा. माधवप्रसाद भट्टराईज्यू र डा. भुपहरि पौडेलज्यूको सहयोग र अमूल्य सल्लाह प्राप्त हुनुको साथै मेरो उत्साहलाई निरन्तरता प्रदान भएको छ । कहीँ–कहीँ प्रमादबश आफ्नो अहम्ले वा नबुझेर त्रुटी रहन गएकोमा क्षमाप्राथी छु ।

कविको ५०औँ पुण्यतिथि,शिवरत्न उपाध्याय रिमाल
२०५८ आषाढ कुष्णदशमीक्याम्पस रोड, धनगडी

मेरो अहोभाग्य !
१९९१ सालतिर म मात्र होइन हाम्रो परिवार नै २/३ महिनासम्म कवि नरेद्रनाथ रिमालको सबभन्दा नजिकको छिमेकी भएर बसेका रहेछौँ, काशीमा,वरुणापुलसँगै को केशर क्यासलमा । तर त्यस बेला मैले देखेको त्यो बूढोबूढो मान्छे नै कविजी हुनुहुन्थ्यो भन्ने मलाई थाहा थिएन ।पाँच वर्षको केटालाई के पत्तो तिनताका उहाँको १८ पर्व महाभारत छापिएको पनि १० वर्ष भैसकेको रहेछ । आफूले नचिने पनि, बालकै भएकाले मैले बेला त्यस कुराको महत्व नबुझ पनि, ऐले मलाई त्यस्ता कविजीको सान्निध्यमा हुर्किनपाएको सम्झदा गर्व लाग्छ ।

ऐलेभने म ती कविका पुत्रहरूको को निकट भएको छु । बुइँगल ले मलाई डा. रामरत्न उपाध्याय र उहाँका दाजु शिवरत्नको नजिक पुप्याइदियो भनूँ । सन्दर्भ डाक्टरसाहेबको भूमिकाबाट बुझिनेछ । तर आफ्नो भूमिकामा उहाँले मलाई चाहिने भन्दा बढ्ता प्रशसा गर्नुभएको छ भनी मैले उहाँको कुरा नकाटी हुन्न । उहाँको बुबाको बुइँगल मा चर्चा गर्नु र कविका दुई कृति पुस्तकालयमा राखिदिनुमा मेरो कुनै करामत थिएन । जसरी अरू कविहरूको परिचय दियो बुईगल ले त्यति मात्र गरेको हो नरेन्द्रनाथको पनि अनि, जसरी अरू अनगिन्ती कविलेखका कृतिहरू संकलन भए पुस्तकालयमा उहाँको १८ पर्व महाभारत र गीता र यरोपीय महाभारत पनि त्यसै गरी सुरक्षित भएका हुन। कमलमणिले त्यो गरेर डा. रामरत्नको परिवारको मात्रै विशेष उपकार गरेको होइन । डाक्टरसाहेबले मलाई खनाएको जशको भारी अलि बढी नै भएको छ ।

बरू, यो महाभारतको पुनर्मुद्रणका क्रममा अलिकति सरसल्लाह दिएँ मैले त्यो पनि मेरो विशेष ज्ञान र योग्यता भएको होइन । आफ्नै प्रेसमा छापिन आइपुगेको किताव राम्रो निस्कियोस् भनेर – छाप्ता के कसरी गर्ने, हिज्जेमा एकरूपता कसरी कायम गर्ने, पदयोग र वियोग कस्तो गर्ने इत्यादि भन्नेमा हामीहरूबीच निकै पटक छलफल भए मैले भनेको धेरैकुरा शिवरत्नजीले खाइदिनुभयो  डाक्टरसाहेबले मानिदिनुभयो  म कृतज्ञ छु । कृतज्ञ मात्र पनि होइन, मुद्रणको र संपादनको सन्दर्भमा कुनै दोष देखिनआयो भने त्यसको ठूलै अंश मैले बोक्नुपर्छ । यस कुरामा नाइँनास्ति छैन ।

मध्यकालीन एक जना ठूला कविको लोप भैसक्न लागेका एउटा वृहत्ग्रन्थको पुनप्रकाशनमा यसरी कारण हुन पाएकोमा म गौरवान्वित भएको छु, यसलाई मैले अहोभाग्य थानेको छु । यो अवसर प्रदान गरेकोमा म कवि–परिवारलाई धन्वाद ज्ञापन गर्छु, कृतिज्ञता जाहेर गर्छु, कवि–पुत्रद्धयलाई त म के भन्छु भने–अब तपाईहरूले बुबामो श्राद्ध गरिसहनै पर्दैन, ब्रह्म कपाली श्राद्ध गरेभन्दा ठुलो काम तपाईहरूले गर्नुभयो–बुबाका लागि तपाईहरू पितृऋणमुक्त हुनुहुन्छ ।

यति ।

श्रीदरबारटोल
पाटनढोका
७ माघ २०५७

कवि पं. नरेन्द्रनाथ रिमाल, महाभारत र हामी
शुक्ल यजुर्वेदाध्यायी माध्यादिन्दनीशाखा कौशीक गोत्र विश्वामित्र, देवरात, औदल, त्रिप्रवर भएका ब्राम्हण हाम्रा पूर्वज विश्वनाथ (काषामुषु) आजभन्दा लगभग पाँच सय वर्ष पहिले आच्छाम जिल्लाको रिमालय गाउँबाट आफ्ना दुई छोराका साथ फिर्केप नुवाकोट आएका थिए । उनका जेठा छोरा सुदामा र कान्छा छोरा विष्णुवल्लभ हुन् । जेठा छोरा सुदामा त्यहीँ विवाह गरी त्यहीँ बसे । कान्छा छोरा विष्णुवल्लभलाई लिई विश्वनाथ पूर्व धनकुटा लागे । त्यहाँपछि– जेठाछोरा सुदामाको हाँगाँबाट आठौँ पुस्तामा हरिलालका पनाति, लप्टन कुलदीपका नाति, दिनानाथका छोरा, हाम्रा बाबा पण्डित नरेन्द्रनाथ (सुदामाबाट एघार पुस्ता), कठेरी नुवाकोटमा सम्वत् १९३७ को नौरथाको महाअष्टमीको दिनमा जन्मनुभएछ । बाबाको मोक्ष लाभ २००८ साल आषाढ कृष्ण दशमीमा भएको हो ।

धार्मिक स्थल र विद्या आर्जनको ठूलो क्षेत्र काशी (वाराणसी) भएकाले पण्डित हरिलालका पालादेखि नै हाम्रा पुस्ताका काशीसँगको समपर्क हुनगई लप्टन कुलदीप, दिनानाथ, नरेन्द्रनाथ र निजका भाइ काशीनाथ सम्मका शिक्षादीक्षा काशीमै भएको थियो । बाबा नरेन्द्रनाथका भाइ काशीनाथको जन्म पनि काशीमा नै भएको थियो । हाम्रा बाबाको काशीवास गर्ने मोह अत्याधिक थियो । हाम्री माता स्व. गंगादेवीको कथनानुसार महाराज श्री ३ चन्द्रशमशेरको त्यो दरबार, जनरल केशरशमशेरको भागमा आइसकेपछि नयाँ मालिकले भनेछन् “तिमी काठमाण्डौ हिँड, खर्दार दर्जा पाउँछौ” । बाबाले मालिकलाई यसरी भन्नुभएछ “सर्कार ! भिक्षुकले काशीमै बसेर सेवा गर्न पाए अहोभाग्य हुन्थ्यो” । आजीवन मुखिया पदमा बस्न स्वीकार्य थियो बाबालाई तर काशी छोड्ने मन नभएको देखिन्छ ।

पण्डित नरेन्द्रनाथको विवाह २६ वर्षको उमेरमा ओखलढुंगा जुगेपानीनिवासी बैजनाथ काफ्लेकी पनातिनी, पण्डित ईश्वरीप्रसाद शर्माकी नातिनी र त्यस बेलाका प्रख्यात कर्मकाण्डी तथा ज्योतिष विद्वान् पण्डित देवनारायण शर्मा काफ्लेको दस छोरा, सात छोरीमध्येकी सबभन्दा कान्छी ८ वर्षकी छोरी गंगादेवीसित पूर्व नं. ३ ओखलढुंगा माम्खाबाट भयो । उमेर पुगिसक्ता पनि नातिले विवाह नगरेको देखी मावली गएको बेला मावलीका हजुरबुबा श्री गोपीनाथ पोख्रेल, मामा कुञ्जरमणि र दन्तकेशरी पोख्रेललेकरकाप गरी बाबालाई आफ्ना गुरुकी छोरी मागी विवाह गराइदिएको कुरा हामीले सुनेका छौँ । बाबा स्वर्ग हुँदा ठूलो दाजु शिवरत्न १६ वर्षको र म रामरत्न १४ वर्षका थियौँ । त्यति बेला हामीलाई बाबाको लेखनबारे केही जानकारी त थियो तर धेरै कुराको हामीलाई वास्ता भएन र हामी अनभिज्ञ नै रह्यौँ । बाबाको महाभारतको प्रथम प्रकाशनको मुख्य पृष्को अर्जुन कृष्ण भएका चित्रको धातुको ब्लकमा कालो दलेर हामीले कागजमा छाप्ने प्रयास गरेको अहिले पनि सम्झ्ना छ । बाबाले आफ्नो भाइको नामसमेत राखी ‘काशीनाथनरेन्द्रनाथ” भन्ने कम्पनी खोल्नुभएको थियो । त्यस कम्पनीले काशीका अरू नेपाली कम्पनीहरूसरह अडर सप्लाईको काम गथ्र्यो । त्यसको माहाकाली तेल, रोगहरण बिन्दु, शिल्कका कपडाको नमुना तथा विज्ञापनका धेरै छापिएका कागजपत्र सामग्री बेवास्तासित च्यातेर मिल्काएको पनि सम्झिन्छ । सानो बाबा (काका) काशीनाथसित बाबाको अत्यधि प्रेम थियो । बाबाको दाजुभाइको स्नेह १८ पर्वको महाभारतको प्रथम पृष्ठको प्रथम श्लोकबाट नै प्रष्ट हुन्छ । विक्रम् सम्वत् २००० (सन् १९४३) मा वाराणसीको बरुणा नदीमा आएको ठूलो बाढीले हाम्रा घरका थुप्रै–थुप्रै पुस्तकहरूका पोकाका पोका कुहिएको सम्झिन्छौँ । ती पोकाहरूमा बाबाले लेखेको महाभारत तथा अरू अप्रकाशित पुस्तकहरूको हसतलिपी थिए भनी आमा भन्नुहुन्थ्यो । आमा संस्कृतमा गीता र चण्डी पाठ गर्नुहुन्थ्यो । “नौ वर्षको उमेरमा मलाई ओखलढुंगाबाट नेपालको पकनाजोल आफ्नो घरमा ल्याएपछि तिम्रो बाबाले थुप्रै केटाकेटीहरूको साथमा राखकिन मलाई पनि पढाउनुभएको हो” भन्नुहुन्थ्यो आमा ।

बाबाको त्यति बेलाका काशीमा बस्ने कुन–कुन नेपाली साहित्यप्रेमी तथा साहित्यकारहरूसिछ समपर्क थियो थाहा भएन तर हाम्रो सम्झ्नामा हाम्रो घरमा आउने पण्डित केदारनाथ खतिवडा, पण्डित कुलचन्द्र गौतम, बालकृष्ण पोख्रेल हुनुहुन्थ्यो । नारायणप्रसाद भट्टराई (युगवाणीका सम्पादक) हामीकहाँ आउँदा भन्नुहुन्थ्यो, “बाबु, तिम्रो बाबाले भुइँमा बसेर यही काठको सानो टेबुलम महाभारत लेख्नुभएको हो” भन्नुहुन्थ्यो । त्यती बेला हामीलाई ती कुरामा न त चाख नै थियो न त्यो बुझने क्षमता नै थियो ।

बाबाका तीन जना बहिनी, एक जना भाइ हुनुहुन्थ्यो । चार भानिज, दुई भान्जी, तीन भतिजा, तीन भतिजी र चार छोरीमुनिका दुई छोरा थिए । बाबालाई परिवारमा सबैले बहुतै सम्मान र स्नेह गरेको देखेका छौँ । भानिजदाइ शारदाप्रसाद उपाध्याय, नेपालका प्रथम एटर्नीजनरल कालीप्रसाद उपाध्याय, लप्टन बलदेवप्रसाद भट्टराई, वकिल गोपालप्रसाद सुवेदीले “हाम्रो ठूलो माम कलियुगको धर्मराज (युधिष्ठिर) हुनुहुन्थ्यो” भनी आफ्नो आदरभाव व्यक्त गरेको सुनेका थियौँ । बरुणापुल टोलमा पण्डित ‘मुखिया महाराज’ भनेर बाबालाई सबैले बहुत आदर र सम्मान गर्थे, उहाँलाई धार्मिक सत्पुरुषर विद्वान् भनेर मान्थे ।

महाभारत प्रकाशन गर्ने प्रेरणा
हाम्रा आमा नै हो हामीलाई यो महाभारत फेरि छाप्न प्रेरणा दिने । भयो के भने जब यो ग्रन्थ सर्वहितैषी कम्पनी, जाल्पादेवी रोढ वाराणसीले अर्काको नाम राखी छपायो हामी बडा दुःखी भयौँ । त्यतिखेर आमाले हामीलाई सान्त्वना दिँदै हिम्मत जगाउनुभएको थियो, यस्तो भनेर– “के गर्छौ बाबु तिमीहरूलाई सानो देखेर हेपेका हुन् । यसको पाप उसले बोक्नु पर्ला । तर तिमीहरूले ठूलो भएपछि बाबाको कीर्ति फैलाउन यो आफैँले छपाउनु, भइहाल्यो नि, किन दुःखी हुन्छौ ?” आमाले भनेका कुरा यति वर्ष बितिसकेपछि अब बल्ल साकार हुन लाग्यो । अमाको जीवनकालमै हामीले यो संस्करण छपाउन पाएको भए कति सन्तोष आमाले लिनु हुन्थ्यो होला ।

त्यसपछि २०२१ सालको कुरा हो, म कलकत्ताबाट काठमाण्डौ फर्केको थिएँ, मेरो साइँलो भिनाजु श्री गोविन्दप्रसाद अर्याल रामनगरबाट केही दिनको लागि काठमाण्डौ आउनुभएको थियो । वहाँ आफ्ना मित्र श्री गोपालप्रसाद भट्टराई (गोरखापत्रका तत्कालीन सम्पादक) कहाँ मैतीदेवीमा बस्नुभएके थियो । म भिनाजुलाई त्यहाँ भेट्न जाँदा वहाँहरू तथा भानिज मधुसुदन उपाध्याय (हाल प्राचार्य नेपालगञ्ज ग्रामीण विकास केन्द्र) बाट के थाहा भाएँ भने कमलमणि दीक्षितज्यूले लेखेको किताब “बुइँगल”मा किनेँ र बाबाका बारेमा लेखेको कुरा धेरैपटक पढेँ । आमा र दाजुलाई पनि खबर गरेँ । कमलमणिज्यूप्रति मेरो मनमा कृतज्ञताको भाव पोखिन थाल्यो । आखिर कसैले त बाबा र बाबाका किताबका बारेमा कहीँ त उल्लेख गरेको रहेछ भनी सन्तोष लाग्यो । आमा लगायत परिवारका हामी सबै सदस्य बहुतै खुशी भयौँ ‘बुइँगल’ को त्यो अंश पढ्दा ।

महाभारतको यो संस्करण छपाउने प्रेरणा त नभनौँ अठोट आउनमा मेरो हृदयमा लागेको एउटा अति नराम्रो चोट हो । त्यो चोटको पीडा कहिले बिसैन सक्दिनँ । कुरा के हो भने एउटा कविले छ वर्ष लगाएर १८ पर्व महाभारतको रचना गर्यो, आजभन्दा ८० वर्षपूर्व । श्री ३ महाराज चन्द्रशमशेरसित नेपाली भाषालाई उन्नतिको शिखरमा पुर्याउने आशा राख्यो र निजबाट नेपाली भाषालाई उननत तुल्याउनलाई निजसाग कृपाको भिक्षा माग्यो । सम्वत् १९७५ (सन् १९१८) मा कविको प्रकाशित भएको गीताको किताब श्री ३ महाराज चन्द्रशमशेरलाई समर्पण गर्यो । त्यसको समर्पण वाक्यमा यी कुरा उल्लिखित छन् । त्यस पुस्तकको एकप्रति मदन पुरस्कार पुस्तकालयमा सुरक्षित छ । त्यस्ता कविलाई नेपाली साहित्यको इतिहास लेख्ने एउटा मानिसले गरी नेपाली साहित्यकार र नेपाली साहित्यका इतिहासकार समक्ष सुलभ रूपले पुर्याउन सकेनौँ । तर ती साहित्यकार, नेपाली साहित्यको इतिहास लेख्ने मान्छेले नरेन्द्रनाथ रिमालको नामसम्म नसुनेको हुनु र त्यसबारे भनिदिँदासमेत आफ्नो गल्ती नसम्झ्ने मान्छेको व्यवहार देख्दा हामीलाई गहीरो दुःख लागेको छ ।

त्यो घटना यसप्रकार भयो ।
२०३६ सालको कुरा हो, म इन्द्रायणी हेल्थ सेन्टरबाट काठमाण्डौ आइरहेको बेला हम्रा भानिज साहित्यकार भवानी घिमिरे (भूतपूर्व उपाध्यक्ष समाज कल्याण परिषद्) साथमा हुनुहुन्थ्यो र भवानीबाबुका एक मित्र नेपाली साहित्यका विद्वान् पनि सँगै थिए । भवानीबाबुले भनेपछि थाहा पाएको थिएँ– उनी नेपाली साहित्यको इतिहास त्यति बेला लेखिरहेका थिए । मैले प्रसङ्गमा उनीसँग सोधेँ, “नेपाली साहित्यको इतिहासको काल कसरी विभाजित भएको छ ?” उनले भने “भक्तिप्रधान रचना सुरूरूमा भएका हुन्” मैले जिज्ञासावश प्रश्न गरेँ, “१८ पर्व माहाभारत कसले नेपाली पद्यमा लेखेको छ ?” उनले जवाफ दिए १८ पर्व महाभारत त कसैले लेखेको छैन, दुई चार वटा पर्वहरू लेख्ने चाहिँ कविहरू छन् । मैले भनेँ “हैन हजुर १८ पर्व महाभारत पण्डित नरेन्द्रनाथ रिमालले लेख्नुभएको छ ।” नेपाली साहित्यको यतिहास लेख्ने मानिसको यस्तो अज्ञान देख्दा छक्क परिरहेको थिएँ । उनले ढिपी गरेर भने “त्यसोभए प्रकाशित भउको हैन होला” । म अत्यन्त भावुक भएर रिसाएछु । भगवानले मलाई क्षमा गरोस् । उनको त्यस्तो जवाफ सुनेपछि म ...हजुरबाट ...तपाईँ मा ओर्लेछु । मैले आवेशमा भन्नपुगेँ “तपाईं नेपाली साहित्यको इतिहास लेखिरहनुभएको छ र तपाईंलाई यति पनि ज्ञान रहेनछ । १८ पर्व महाभारत मेरो बाबाले लेखेको हो र १९८५ सालमा त्यो प्रकाशित पनि भएको छ । अचम्म लाग्छ तपाईंले कमलमणिको “बुइँगल” सम्म पढ्ने धैयृ गर्नुभएनछ, नेपाली साहित्यको इतिहास लेख्नुभन्दापहिले त्यो पुस्तकमा उल्लिखित छ सबै ज्ञात–अज्ञात कविहरूका कृतिबारे ।” मेरा यी अभद्र शब्द निक्लिँदा हाम्रो कार कालोपुलनेरि पुगिसकेको थियो । उनी ओर्ले । तर उनले आफ्नो गल्ती अंगिकार गरेनन् । मनमा बहुत पीडा हुन्छ, यो कुरा सम्झिँदा ऐले पनि । त्यस अप्रिय घटनाको चर्चा आफ्नी पत्नीसित गरेँ उनी पनि दुःखित भइन् । पछि आमा र दाजुसित पनि त्यसको चर्चा भयो, दाजु र आमाले मलाई सम्झउनुभयो– “हेर यति भावावेशमा आउनु ठकि भएन रामु (मेरो घरमा बोलाउने नाम), तर जे भयो भैगयो अब हामी किताब प्रकाश गर्नपट्टि लागौँ ।” यो घटनाले पुस्तक प्रकाशित गराउने हाम्रो संकल्प पुनः जागृत भयो । यो घटनाले हामी के निष्कर्षमा पुग्यौँ भने बाबाले लेखेको पुस्तक प्राप्त गर्न दुर्लभ हुनपुगेका कारणले नै विद्वान्, पाठकवर्ग, समालोचक, अन्वेषक, इतिहासकारहरूले पण्डित नरेन्द्रनाथका कृतिहरू कसैले देख्नै पाएनन् के लेख्ने । त्यसैले अब हामीले अठोट गर्यौँ– पहिले उहाँको १९७५ सालमा छापिएको गीता प्रकाशित गर्ने अनिपछि पूरै महाभारत छाप्ने ।

बाबाले लेखेको गीताको किताबको हामीसँग भएको प्रतिमा अन्तिम पानाको दुईवटा श्लोक अस्पष्ट थियो । आमाले त्यो पुस्तक सधैँ पाठ गर्ने क्रममा छुँदाछुँदा शब्दहरू अस्पष्ट भएका थिए त्यस किताबको । अन्तिम पाना प्राप्त गर्न मदन पुरस्कार पुस्तकालय जानुपर्ने थियो । मेरो परिचय थिएन कमलमणिज्यूसित । त्यसैले मैले मेरो ससुरा प्राध्यापक गोविन्दप्रसाद भट्टराईज्यू (भावना माहकाव्य, पृथ्वी महेन्द्र महाकाव्य आदिका रचयिता) लाई यो कुरा भनेँ । ससुराज्यू र म मदन पुरस्कार पुस्तकालयमा सँगै गयौँ, पुस्तक हेर्नर एउटा श्लोक सार्नका लागि । कमलमणिजी हुनुहुन्नथ्यो, केहीबेर वासुदेव लुइँटेलजी, त्यसपछि देवीजी (अञ्जु दीक्षित) सित कुरा गर्यौँ । केही छीनपछि कमलमणिजी आइपुग्नुभयो । ससुराज्यूले कमलमणिजीसित मेरो परिचय गराउनुभयो र हामी भेट्न आएको उद्देश्य भन्नुभयो । कमलमणिजीले मसित भन्नुभयो । “तपाईंहरूसित बहुत अन्याय भाछ सर्वहितैषी कम्पनीले आर्कैको नाम राखी तपाईंका पिताजीको पुस्तक छपाएको थियो । तपाईंहरूले मुद्दा पनि हाल्नुभएको थियो, के भो ?” २० वर्षभन्दा पनि बढी अघिको कुरा उहाँले यसरी सम्झेको देख्ता म छक्क परेँ, मलाई सुखद आश्चर्य भयो र भन्ठानेँ कसैले त बुझेको रहेछ हामीमाथि (पण्डित नरेन्द्रकृत १८ पर्व महाभारतप्रति) अन्याय भएको रहेछ भन्ने । मैले उत्तर दिउँ “इलाहबाद हाइकोर्टले आफ्नो पैmसलामा भनेको छ, पुस्तक पण्डित नरेन्द्रनाथको नै हो, प्रकाशनले अर्काको नाम राखी प्रकाशित गरेको हो भनी हर्जाना असुल गर्न दिवानी अदालतमा जाने निर्देश दिउको थियो” । यो सुनेर वहाँ खुसी हुनुभयो र भन्नुभयो “भैहाल्यो नि हर्जाना असुल गर्ने कुरा त्यस्तै हो, आफ्नो हक त सिद्ध भयो नि” यति भनी आफ्नो आल्मारीबाट उहाँले बुइँगल झिक्नुभयो र भिष्मपर्वको लडाइँ सुरुको श्लोक छनदमय तरीकाले पढ्न थाल्नुभयो । पढीसकेपछि भन्नुभयो– ...डाक्टरसाब एउटा निवेदन लेख्नुहोस् गीताको किताब हेर्न पाऊँ भनेर । पर्सि पुस्तकालयमा बोलाउँछन् अनि त्यो श्लोक सारेर लग्नुहोला” । फेरि एउटा सललाह पनि दिनुभयो । त्यो सललाह थियो त बहुतै उचित तर त्यतिखेर कार्यान्वयन हुन सकेन । सल्लाह के थियो भने १८ पर्व महाभारतको अठारै पर्वबाट दुई दुईवटा राम्रा–राम्रा श्लोक हामीले प्रकाशन गर्न लागेको गीताको पुस्तकमा राखी छपाईदिने ।

त्यो कुरा कार्यान्वयन नहुनुको पछाडि एउटा समस्या के थियो भने हामीसित बाबाले लेखेको माहाभारतको किताब थिएन त्यति बेला, प्रथम संस्करणको एउटामात्र किताब (हाम्रो जानकारीमा) मदन पुरसकार पुस्तकालयमा मात्र छ । मदन पुरस्कार पुस्तकालयमा गईकन सम्पूर्ण महाभारत पढी १८ पर्वबाट ३६ वटा श्लोक छनोट गरी गीताको पुस्तकमा राखी प्रकाशित गर्ने काम सहज थिएन । किताब काठमाण्डौमा, एउटा छोरा धनगडीमा, एउटा छोरा पोखरामा, फेरि किताब प्राप्त गर्न त्यति कडीकडाउनको नियम जागिरे खान्छे आफुलाई पोखरा हिड्न हतार थियो, पर्सिपल्ट गई गीताको त्यो एउटा श्लोक नै पनि मैले मदन पुरस्कार पुस्तकालयबाट सार्न सकिनँ । अनि त्यो गीताको पुस्तक त्यतिखेर प्रकाशित गर्ने काम त्यत्तिकै रह्यो ।

मदन पुरस्कार पुस्तकालयको पुस्तक हेर्नलाई मात्र लगाएको त्यति कडा नियमप्रति त्यति बेला मलाई मनमा क्षोभ पनि भएको थियो– कत्रो कडा नियम होला, भनेको बेलामा पुस्तक पनि हेर्न नपाइने । तर आज मलाई विश्वास छ त्यति कडा नियम बनाएर ती दुर्लभ पुस्तकहरूलाई सुरक्षित नराखेको भए न त हाम्रो बाबाको पुस्तक नै सुरक्षित रहने थियो, न अरू धेरै कविहरूको पुस्तक नै ऐले कसैले पढ्न पाउने थियो । धन्य छ मदन पुरस्कार पुस्तकालयको प्रयास र कमलमणिज्यूको सत्प्रयास । हामीले आफ्नो बाबाको एउटा पुस्तक आफूसित सुरक्षित राख्न सकेनौँ, तर उहाँले कैयौँ अप्राप्य पुस्तकहरू, पत्रिकाहरू पचास वर्ष पहिलेदेखि खोजीखोजी पुस्तकालयमा सुरक्षित राखिदिनुभयो । हामी हाम्रो बाबाको किताब त्यहाँ पाई पुनः प्रकाशित गर्न पाएकोमा कमलमणिजीप्रति कृतज्ञ छौँ, वहाँको ऋणी छौँ र हामीलाई लाग्दछ नेपाली भाषाको इतिहास जब सही मानेमा लेखिएला त्यति बेला नेपाली भाषासाहित्यप्रतिको वहाँको अगाध प्रेमको प्रशंसा मुक्तकण्ठले गरिनेछ ।

गीता छाप्ने त्यो असल प्रयासको दश वर्षपछि यो रामरत्नको सरुवा पोखराबाट काठमाण्डौमा भयो, अनिपछि फेरि हाम्रो मनमा बाबाको १८  पर्व माहाभारत छापी प्रकाशित गर्ने सुसुप्त अभिलाषा पुनः जागृत भयो ।

यो पुस्तक प्रकाशनको क्रममा कमलमणि दीक्षितज्यू, डा. माधवप्रसाद भट्टराईज्यू र डा. भूपहरि पौडेलज्युहरूले आफ्नो अति व्यस्त समयमा पनि समय निकाली समयसमयमा हाम्रो कुटीमा आई सुझव तथा मार्गदर्शन निःश्वार्थ भावले दिनुभएको छ, उहाँहरूको भाषाप्रेमप्रति अति विनम्रतापूर्वक हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ । हाम्रा नातिबाबु नारायण पौडेल तथा जगदम्बा प्रेसका कर्मचारीहरूलाई हामीले विशेष धन्यवाद दिनुपर्छ । अझ् नातिबाबुको त हामी धेरै नै ऋणी छौँ । कलाकार श्री हरिप्रसाद शर्माज्यूले लगनका साथ पुस्तक बाहिर भित्र परेका सबै चित्रहरू बडो सजिव ढंगले बनाइदिएकोमा धन्यवाद छ । पूज्य ठूलोदिदी विजयालक्ष्मी पौडेल,  भानिज रमेश पौडेल, मधुसुदन उपाध्याय, विश्वनाथ पौडेल, दीदी बहिनी अन्जु खनाल, रानु उपाध्याय, धनलक्ष्मी पौडेल गौतम, भाइ प्रकाश, भतिजा पुरुषोत्तम दाहाल, काका उद्धब पोख्रेल, भाञ्जीभाउजुहरू स्वजनलाई सम्झी सम्झीकन धन्यवाद दिन्छौँ । वहाँहरूले बारम्बार बाबाले लेखेको महाभारत पढ्ने इच्छा व्यक्त गर्नुभयो र यो सत्प्रेरणाबाट पुस्तक पुनः प्रकाशित गर्नमा हामीलाई जाँगर चल्यो र प्रकाशित भयो । हाम्रो छोराहरू निरंजन, अरविन्द सचिन र सत्यम बुहारीहरू रेणु, रिता, ज्वाइँ छोरी रमेश सापकोटा लुनाश्री नाति नातिनी प्रशान्त, शाश्वत, सार्थक, रिचा, संवृद्धी र एलिसा सबैले यो महाभारतको प्रकाशन क्रममा जिज्ञासा पूवृक यस पुस्तकका चित्र हेरेका र चित्र सम्बन्धी कथा बडो चित्त लगाई हामीबाट सुनी, आफूलाई छुट्टै छुट्टै किताब पाउने चाहना गरेकोले यो ग्रन्थको भविष्यमा पनि संरक्षण तथा संवर्धन हुन जाने कुरामा हामी विश्वस्त छौँ । तसर्थ हामी उनीहरूका ती भावनाहरूलाई सहर्याउँदै ती सबैलाई धन्यवाद दिन्छौँ । पुस्तकको केही अंश टाइप तथा प्रुफ रिडिङ्ग गर्न सहयोग गरेकोमा भोलानाथ पौडेललाई पनि धन्यवाद दिन्छौँ । मेरा पुज्य दाजु प्रा. शिवरत्न उपाध्यायज्यूले कलिलै उमेरमा सम्पूर्ण कानूनी अभिभारा बोकी बाबाको पुस्तकको हैसियत जोगाउन इलाहावाद हाइकोर्ट उत्तरप्रदेश भारतसम्म मुद्दा खेप्नुभएको थियो र बाबाको कृतिलाई पुनः प्रकाशित गर्ने स्थितिमा आइपुग्यो । दाजुको बाबा र परिवारप्रति महान्निष्ठा र समपर्णका लागि वहाँप्रति म आजन्म कृतज्ञ र नतमस्तक छु । अन्तमा म पूज्य भाउजू श्रीमती विना उपाध्याय तथा धर्मपत्नी डा. इन्दिरा उपाध्यायलाई पनि हार्दिक धन्यवाद दिन्छु, जसका अनवरत उत्साही भावनाहरू र हृदयस्पर्शी प्रेरणा तथा सर्वाङ्गीण सहयोगले यो प्रकाशन सम्भव भएको हो ।

कविको ५० औँ पुण्यतिथिडा. रामरत्न उपाध्याय रिमाल
२०५८ आषाढ कृष्णदशमीरिमालय,
क,४/२७८ भनीमण्डल,
जाउलाखेल, ललितपुर ।

मन्तव्य

– माधवप्रसाद घिमिरे

श्रद्धेय सभापतिज्यू,
उपस्थित महिला तथा सज्जनवृन्द !

सर्वप्रथम कवि नरेन्द्रनाथ रिमालप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु ।

नेपाली साहित्यको माध्यमिक काल दुई पर्वतको अन्तरालमा रहेको उर्वर फाँट हो । जति प्रवेश गर्दै गयो, यो उति विशाल देखिन्छ । त्यस कालखण्डमा संस्कृत साहित्यको अनुवादद्वारा सर्वसाधारणसम्म भाषासाहित्यको प्रचारका कार्य भए । यसै सिलसिलामा, कवि नरेन्द्रनाथ रिमालले अठारै पर्व महाभारतको छन्दोबद्ध अनुवाद गरे– नेपाली भाषामा सर्वप्रथम । यसको साथै उनले तत्कालीन प्रथम विश्वयुद्धको वर्णन नेपाली लोकलयमा गरे । स्वदेशी कला–कौशल र भाषासाहित्यको निम्ति अुनदार चन्द्रशमशेर जस्तो चतुर एकतन्त्री शासकलाई मधुर बनाउन कवि नरेन्द्रनाथले लिति रुपमा आफ्नो मत यसरी प्रकट गरे– ‘देशविदेशहरु मातृभाषाको बलले ठूलो ठूलो पदमा पुगे, हाम्रो मातृभाषा पनि चाँडै नै उन्नतिको शिखरमा पुग्नेछ’ । कवि नरेन्द्रको विचारमा– मातृभाषारूपी वृक्षमा श्लोकभाषामृतफल लाग्छ । यसरी उनी कविताको निम्ति लय र हृदय दुवै आवश्यक सम्झन्थे ।

कवि नरेन्द्रनाथका सुपुत्रहरुले आफ्ना यशस्वी पिताको नाममा नरेन्द्र वाङ्मय निधिको स्थापना गरे अनुकरणीय कार्य गरेका छन् । पुराना स्रष्टालाई दीर्घ साधनाको निम्ति अभिनन्दन र नयाँ स्रष्टालाई प्रतिभाको प्रोत्साहनको निम्ति पुरस्कारको प्रवर्धन गरेर प्रतिष्ठानले साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएको छ । यस्ता कार्यक्रमले संस्थानको स्थायित्व र निरन्तरतामा पनि बल पुर्याउनेछन् । आज कविको नाममा स्थापित संस्थाबाट अभिनन्दन प्राप्त गर्दा पूर्ववर्ती कविको शुभासिक पाएको अनुभूति गरेको छु । यसबाट यो उनान्नब्बे वर्षको उमेरमा पनि सिर्जना गरिरहने उत्साह पलाएको छ । यसको  निम्ति हृदयदेखि धन्यवाद अभिव्यक्त गर्न चाहन्छु ।

(वि.सं. २०६४।०२।२७ मा महाभारतको विमोचन हुँदा राष्ट्रकवि माधव घिमिरेद्वारा व्यक्त विचार)

सत्यमोहन जोशीज्यूको मन्तव्य
कवि पं. नरेन्द्रनाथ रिमालको १२७ औं जन्मजयन्ती तथा ५६ औं पुण्यतिथि समारोहको शुभअवसरमा नरेन्द्रवाङ्मय निधिको तर्फबाट राष्ट्रकवि श्री माधवप्रसाद घिमिरेज्यूलाई अभिनन्दनपत्र तथा त्रि.वि.को २०६२ सालको नेपाली एम्.ए. परीक्षामा सर्वोकृष्ट हुने छात्र श्रीसुमनराज न्यौपानेलाई सम्मानपत्र तथा रु. २५१०१।– (पच्चीस हजार एकसय एक रुपियाँको) पुरस्कार राखि अर्पण गरेपछि प्रमुख अतिथि श्रीसत्यमोहन जोशीज्यूले आफ्नो मन्तव्यमा हर्ष र विस्मात दुवै अभिव्यक्त गर्नुभयो ।

उक्त अवसरमा उहाँले ओझेलमा पर्न लागेका कवि पं. नरेन्द्रनाथ रिमालको नेपाली भाषामा सर्वप्रथम छन्दोबद्ध अठारै पर्व सम्पूर्ण महाभारत जस्ता बृहद्ग्रन्थ र लोकछन्दमा लेखिएको हाम्रो युगको प्रथम विश्वयुद्धको ऐतिहासिक वर्णन भएको ग्रन्थ युरोपीय महाभारत नामका पुस्तकहरु पुनः प्रकाशित गरी नेपाली साहित्य जगत्लाई समृद्ध बनाउने काम गरिदिएकोमा सम्बन्धित सबैको सराहना गर्नुभयो । उहाँले कविको जन्मजयन्ती एवं पुण्य–तिथिको अवसरमा आफू सहभागी हुन पाउँदा हर्ष प्रकट गर्नुभयो ।

प्रज्ञाप्रतिष्ठानको सचिव भएर कार्य गरेको आफ्नो कार्यकालमा नेपाली भाषाको इतिहास लेखाउने कार्य भएको उल्लेख गर्नुहुँदै त्यस बेला इतिहास लेख्ने प्राध्यापकज्यूहरुबाट कमल दीक्षितज्यूद्वारा सम्पादित “बुइँगल” को अध्ययन नगरेकोले नै कवि पं. नरेन्द्रनाथ रिमालको यस्ता महत्वपूर्ण ग्रन्थहरु उक्त इतिहासमा समावेश हुन नसकेकोमा विस्मात पीन प्रकट गर्नुभयो ।

(वि.सं. २०६४ जेठ २७ मा प्रज्ञाभवन, कमलादीमा आयोजित कवि पं. नरेन्द्रनाथ रिमालको १२७ औं जन्मजयन्ती तथा ५६ औं पुण्यतिथि समारोहमा नरेन्द्रवाङ्मय निधिका सदस्यसचिव श्रीमधुसूदन उपाध्यायद्वारा लिपिबद्ध टिपोटको अंश)

आजको युद्ध र नरेन्द्रनाथको महाभारत

– पुरुषोत्तम दहाल

देश यौटा नराम्रो युद्धबाट पृथक् विश्रान्तिको क्षणमा शान्तिको सास फेरिरहेको छ । पूर्वीय इतिहासमा वर्णित ‘महाभारत’ पनि १० वर्ष लडिएन र युरोपको महाभारत भनी परिचित पहिलो र दोस्रो विश्वयुद्ध पनि एक दशक चलेनन् । हामी चाहिँ १० वर्ष युद्धमा बितायौं तर यो विश्रामको क्षणमा कुन अश्वत्थामा कुन शिविरमा प्रवेश गरी निर्दोष बालकहरुको संहार गर्ने हो र युद्धको अन्त्यलाई बढी क्रूर, दयनीय र प्रतिशोधयुक्त बनाउने हो भन्न सकिँदैन ।

युद्ध विश्रामको यो क्षणमा ‘गोधुली’ को सुन्दर दृश्यहरु सबैका आँखामा छन् । अर्थात् अब दिनभरिको हिंसा र आहतहरुको क्रन्दनबाट उन्मुक्ति हुन आँटेको विश्वास सबैमा छ । तर गोधुली क्षण अन्धकारको आगमनको संकेत हो । त्यो अन्धकार पार गर्नु अनिवार्य छ । किनकि अँध्यारो कालरात्रि पार नगरी सूर्यका किरणले हामी कसैलाई पनि स्पर्श गर्दैनन् । युद्ध विभीषिकाको यस शृङ्खलामा आज म ‘महाभारत’ र ‘युरोपीय महाभारत’ जस्ता अमर कृतिहरुका पाना पल्टाइरहेछु र मैले बाँचेको आजको क्षणलाई सय वर्षदेखि पाँच हजार वर्ष पूर्वसम्म तान्दै लिएर अनुभव गरिरहेछु । नेपाली भाषाको समृद्धि निम्ति रामायण महाकाव्यको योगदानजस्तै महाभारत महाकाव्यको पनि रहेको छ । नेपालीमा महाभारत अठार पर्वका रचयिता ती महान् कवि पण्डित नरेन्द्रनाथ रिमालबारे नेपाली साहित्यमा कमै चर्चा पाइन्छ, जसले प्रथम विश्वयुद्धलाई समेत महाभारतकै संज्ञा दिए र काव्य रचना गरे । संयोगवश आज तिनै महान् कवि नरेन्द्रनाथ रिमालको १२६ औं जन्मजयन्ती र ५५ औं पुण्डतिथि पनि परेको रहेछ । कवि रिमालले गीताको समेत नेपालीमा अनुवाद गर्नुभएको छ । अनेक आरोह–अवरोहपछि महाभारतको पुर्नप्रकाशन गरी नेपाली साहित्यमा– रिमालका सुपुत्रद्वय प्रा. शिवरत्न उपाध्याय एवं डा. रामरत्न उपाध्यायले थप गुन लगाउनुभएको छ ।

महाभारत युद्ध काल्पनिक कथा मात्र हुन सक्दैन किनभने राज्यको निर्माण, विनाश पुर्ननिर्माण सबैका जगमा युद्ध अनिवार्य रहँदैन आएको छ । भारतीय उपमहाद्वीपमा अनेक राज्यहरु थिए र तिनीहरुबीच मित्रता र शत्रुता सामान्य थियो । परिस्पर युद्धको जीवन कथा रामायण हो भने ‘गृहयुद्ध’ को जीवन्त कथा महाभारत हो । त्रासदी जय–पराजय हुन सक्छ, तर गृहयुद्धमा ‘पराजय र विनाश’ बाहेक अरु केही हुँदैन । गीतामार्फत् ज्ञान र कर्मको गुण सम्बन्ध र अन्तरको व्याख्या महाभारतमा सँगसँगै गरिएको छ । त्यसमा युद्धलाई जसरी अपरिहार्य ठानिएको छ त्यति नै युद्धलाई अस्वीकार्य र वर्जनीय प्रमाणीत पनि गरिएको छ । त्यसै कारण महाभारत र रामायणजस्ता कृतिहरु रोचक र लोकप्रिय भएका छन् । वि.सं. १९७७ मा सम्पूर्ण महाभारत नेपालीमा रचना गर्ने नरेन्द्रनाथपछि रामप्रसाद शर्माले त्यसको तीन दशकपछि रचन गरे । यस सँगसँगै अहिलेसम्म विभिन्न पर्वको रचना संख्या १७ पुगेको छ । महाभारत अनुवादकै सेरोफेरोमा धेरै कवि र साहित्यसाधक पैदा भएका छ् ।

कवि रिमाले प्रथम विश्वयुद्ध (सन् १९१४–१९१९) लाई भारतीय उपमहाद्वीपको महाभारतसँग तुलना गर्नुभएको छ । किनकि यसअघि नै उहाँले महाभारतको सिंगो अध्ययन गर्नुभयो र ४ हजारभन्दा बढी श्लोक ११ वटा छन्दमा रचना गर्नुभयो । आजभन्दा झण्डै ८०–९० वर्ष पहिलेको नेपाली भाषा त्यस समय जति विकसित थियो, त्यही अनुरुप शब्द र उदाहरण त्यसमा परेका छन् । आज परिमार्जन हुँदै गएको र अनेक अन्य भाषालाई समेत आत्मसात् गरिसकेको नेपालीसँग त्यसको तुलना गर्न मिल्दैन । बनारसमा बसेर अध्ययन गरेका एक नेपालीले त्यस समयको सर्वाधिक विकसित नेपाली भाषामा रचना, साधना गरेका छन् । रिमालले सम्पूर्ण गीताको पनि अनुवाद गरेका छन् ।

महाभारत र गीता यथार्थमा राज्यका सम्बन्धको, राज्यभित्र सञ्चालित प्रशासनको, आर्थिक नीतिको, स्वतन्त्रता र नागरिक सर्वोच्चताको काव्यिक वर्णन हुन् । साथै व्यक्तिका आकांक्षा अनुभव र गुणहरुको अन्तर्निहित व्याख्या पनि पाइन्छ । नागरिक सर्वोच्चता स्थापित गर्ने कृति रामायण पनि हो । पहिले यी सबै ग्रन्थ संस्कृतमा थिए । संस्कृत सबैले बुझ्दैनन् । त्यसैले विद्वानहरु अघि सरे नेपालीमा सरल ढंगले सबैले यी कृतिका मर्म जानून् भनेर । महाभारतको भावानुवाद वा शब्दानुवाद गर्नु सजिलो होला, तर नेपालीमा छन्दोबद्ध गरी त्यसमा त्यसका आशय यथावत् प्रस्तुत गर्नु कठिन कुरो हो । महाभारतका अठारै पर्व नेपाली भाषामा पढ्ने हरेक पाठकहरुले कठिनताको अनुभव सजिलै गर्न सक्दछन् ।

जति मैले युरोपीय महाभारतका श्लोकहरु पढ्दै गएँ र महाभारतका पर्वहरु खोतल्दै गएँ, ती प्रत्येक श्लोक र पर्वहरुमा आजको मेरो देशको तस्वीर देखिरहेको छु । अहंकार, उत्तेजना, भोग–विलास, लोभ, संकीर्णता र असमर्थता मात्र होइन न्याय–अन्यायका सन्दर्भमा पनि नेपाल त्यही अवस्थामा उभिइरहेको छ । धृतराष्ट्रहरु छ्याप्छ्याप्ती छन्, दुर्योधन र कर्णहरु मात्र होइन प्रत्येक घरमा कृष्णहरु पनि उत्तिकै छन् । कुन्ती, द्रौपतीजस्तै गान्धारीहरुका अनेक चरित्र पात्र विद्यमान छन् । शकुनीहरु सबैतिर छरिएका छन् । अश्वत्थामाहरु लुकीलुकी प्रहार गर्न पटक्कै लज्जाबोध गर्दैनन् । यी पात्रहरुले प्रत्येक देशमा हरेक कालमा जन्म लिइरहेका हुन्छन् । यी पात्रका शरीरको प्रश्न होइन उनीहरुको चेतनाको र प्रवृत्तिको प्रश्न हो । कसैलाइृ युद्ध चाहिएको छ, कसैलाई युद्धको निहुँ चाहिएको छ । जे चाहिए पनि युद्धको अर्थ रक्तपात नै हो, विनाश नै हो । भविष्य निर्माणको अविश्वसनीय सपना र सपनाको आकृति देखाएर युद्ध उन्मादको खेती सर्वथा अनुचित र असभ्य हो । युद्ध गर्दा गर्दा थाकेका सबै वैभव र राज्यबाट उन्मुक्त हुँदै शरशय्यामा बसेका भीष्म पितामह, उत्तरखण्डतर्फ लागेका युधिष्ठिर र आफ्नो वंश विनाशको लीला हेर्दै प्राण त्याग गर्न लागेका कृष्णको अनुभव र अभिव्यक्तिले पनि यसलाई पुष्टि गरेका छन् ।

युरोपबाट प्रारम्भ प्रथम र द्वितीय विश्वयुद्धको विनाश आज पनि आङ जिरिङ्ग पार्ने खालको छ । कैजर वा हिटलर जिते पनि हारे पनि कहिल्यै नायक होइनन् । बेलायत होस् कि रुस, जर्मनी वा फ्रान्स अथवा अमेरिका वा जापान सबै नै ती दुबै युद्धबाट घाइते नै भए । त्यसो त विश्वयुद्धलाई बिर्साउने अनेक युद्ध भएका छन् । इराक–इरान युद्ध, इराक अफगानिस्तानभित्र चलिरहेको युद्ध, कस्मिरदेखि जापानसम्म भएका नरसंहार, हिजोका दिनमा तुत्सी–हुतुबीचको जातीय लडाइँ, भियतनाम, कम्बोडियाका युद्धहरु कुनैमा पनि कोही विजयी भएको छैन । कसैले केही क्षण विजयी भएको अनुभव गरे पनि त्यहाँ सबभन्दा ज्यादा मानवीय मूल्यको, मानवताको विनाश भएको छ ।

नेपालमा विगत १० वर्षयता चलिरहेको युद्धमा पनि मानवता पराजित भएको छ । यस युद्धमा धेरै भानुभक्त, धेरै नरेन्द्रनाथ रिमा, धेरै लक्ष्मीप्रसाद र लेखनाथ, सिद्धिचरण श्रेष्ठ, धेरै वाल्मीकि र वाचस्पतिहरु मारिइसकेका छन् । आजका अनेक धीरेन्द्र प्रेमर्षि, प्रेम छोटा वा अर्जुन पराजुलीदेखि रुविन गन्धर्व, नन्दकृष्ण जोशी, रायन र रमेश हुनेहरु यस युद्धमा मारिइसकेका छन् । १० वर्षको युद्धमा मारिनेहरु कोही बीपी थिए र कोही पुष्पलाल, कोही प्रचण्ड थिए त कोही बाबुराम वा मदन भण्डारी, कोही सीके प्रसाई थिए त कोही महेन्द्रनारायण निधि, कोही गणेशमान सिंह थिए त कोही कृष्णप्रसाद, कोही सीता थिए, कोही भृकुटी अनि कोही यस युगका मंगलादेवीहरु कति थिए कति । कति बुद्ध र गान्धीहरु मरे । १० वर्षमा मारिएका र तिनीहरु बाँचेर जन्मिने सन्तानहरु यस देशका लागि के हुन सक्थे, त्यसको क्षतिपूर्ति कसले दिन सक्छ ? त्यसको क्षतिपूर्ति कसैले पनि दिन सक्दैन । कलाकार, लेखक, प्राज्ञिक, योजनाकार, दार्शनिक, खेलाडी, साधक, अनेक ‘अमर’ अनुहारहरु मारिए १० वर्षमा । यो आवेग अथवा भावनाको प्रसङ्ग होइन, यथार्थ हो ।

पण्डित कवि नरेन्द्रनाथ रिमालका युरोपीय महाभारत र अठार पर्व महाभारत पढिसकेपछि मलाई अहिले लागिरहेछ– महाभारतको बलिवेदीमा अझै कतिको आहुति हुने हो ? भयो अब युद्ध रोकौं र कुन शकुनी वा अश्वत्थामाहरुका निर्दयी सोच र क्रूर कर्मबाट मुक्ति खोजौं । यी कृतिहरुको शाश्वत सन्देश पनि यही नै हुनुपर्छ ।

(वि.सं. २०६२ जेठ २७ गतेको नेपाल समाचारपत्र दैनिकबाट)

एक स्रष्टा दुई महाभारत

– मोदनाथ प्रश्रित

महाभारत प्राचीन विश्वका विशालतम ग्रन्थमध्ये प्रमुख र सर्वाधिक चर्चित पनि हो । त्यस युगको सबभन्दा ठूलो ‘कुरुक्षेत्र’ युद्धको वर्णनमा आधारित महाकाव्य इतिहास, दर्शन, राजनीति, रणनीति, शस्त्रास्त्र वर्णन आदि धेरै विषयले ओतप्रोत छ । अठार पर्वमा विभाजित ग्रन्थमा नब्बे हजारभन्दा बढी श्लोक छन् । यति धेरै पात्र भएको अर्को ग्रन्थ लेखिएको छैन । सबै पात्रलाई पूरा निखारसहित प्रस्तुत गरिएको छ । कौरव र पाण्डव दुई पक्षको बीचमा भएको त्यो महायुद्धमा एसियाका अनेक राज्य र गणतन्त्र यो वा त्यो पक्षको सहयोगमा सामेल भएको वर्णन छ ।

कौरव–पाण्डव युद्धपछि विश्वविख्यात महाकवि वेदव्यासले ‘जय’ शीर्षकको महाकाव्य रचे । त्यसलाई व्यासका प्रमुख शिष्य वैशम्पायनले केही थपेर ‘भारत’ नाम राखे । व्यासकै अर्का शिष्य सूतले नैमिषारण्यका हजारौं ऋषिलाई ‘भारत’ ग्रन्थ सुनाउने सन्दर्भमा अरु धेरै कथा जोड्दै गएपछि त्यसले ‘महाभारत’ को रुप लियो । यसलाई वैदिक परम्पराका विद्वान् साहित्यकारले वेदकै समकक्ष महत्व दिई ‘पाँचौं वेद’ भनेका छन् । नयाँ भाषा, साहित्यिक वर्णन, कौशल, विषयगत विविधता आदि दृष्टिले हेर्ने हो भने युगयुगसम्मका इतिहास र साहित्यका पाठकका लागि महाभारत ग्रन्थ वेदहरुभन्दा पनि बढी उपयोगी छ ।

यस ग्रन्थको विश्वका अनेक भाषामा पूरा या आंशिक अनुवाद हुँदै आएको छ । यसका विभिन्न कथा र नायक नायिकामा आधारित असंख्य ग्रन्थ रचिएका छन् । नेपाली जनताका निम्ति आफ्नो भाषामा यस महान् ग्रन्थलाई उतार्ने विशिष्ट साधनाको पहिलो बिंडो उठाए– पण्डित नरेन्द्रनाथ रिमालले । नुवाकोट, कठेरीमा १९३७ मा जन्मेका रिमालको शिक्षादीक्षा काशीमा भयो । अत्यन्त अध्ययनशील एवं विश्वको इतिहास र समकालीन राजनीतिबारे गहिरो ज्ञान हासिल गरेका रिमालले काशीलाई कर्मथलो बनाए । सम्भवतः अध्ययन, ज्ञान र चेतनाको उपयोग राणाशाही व्यवस्थामा गर्न सकिन्न भन्नेमा उनी सचेत थिए ।

नेपाली साहित्यको मध्यकालीन चरण थियो त्यो । नरेन्द्रनाथ चार वर्षका हुँदा भानुभक्तको रामायण प्रकाशित भएको थियो । मोतीराम भट्ट, शम्भुप्रसाद ढुंगेल आदिका सिर्जनाको चकचकीको समय थियो । त्यस लहरले नरेन्द्रनाथको प्रतिभालाई कुत्कुत्याउँदै गयो । उनले गहन रुपले दोहर्याई–तेहर्याई महाभारत पढेका थिए । रामायण रच्ने भानुभक्तकै मूल प्रेरणा होला– उनले १९७७ मा पलेटी कसेर ६ वर्षमा नेपाली महाभारत अठार पर्व तयार गरे । त्यो महाभारतको अनुवाद नभई मूल कथामा आधारित मौलिक सिर्जना थियो । उनले त्यस विराट ग्रन्थको संक्षेपीकरण गरेका थिए । नेपाली पाठकको हातमा पुग्ने सक्ने गरी १९८५ मा त्यसको प्रकाशन आफैंले गरे ।

राणाकालीन दमन र अशिक्षाको अन्धकारमा भासिएका देशबन्धुलाई राजनीतिक, सामाजिक र शास्त्रीय दृष्टिले ब्यूँझाउँ–उठाउँ भनी गरिएको ठूलो संकल्पको परिणाम थियो त्यो । त्यसको मंगलाचरणमा उनले पहिलो पंक्तिमा शिव, पार्वती, सूर्य र विष्णुलाई सम्झेका छन् र दोस्रो पंक्तिमा नेपालीको उन्नतिको कामना गरेका छन्–

मंङ्गल् शङ्कर गौरि सूर्य हरिले नेपाल् हिमाले वरि
धेरै उन्नतिवान् तुल्याउनुहवोस् मानीस त्यो देशभरि

प्रष्ट छ उनले नेपालीको चेतना विकास र देशको उत्थानका निम्ति कलम चलाएका थिए । उनको यो सामाजिक जागृति र राजनीतिक दूरदर्शिता अरु रचनामा झन् प्रष्ट रुपले मुखरित भएको छ । युग परिवर्तन चक्रको गतिबारे शान्तिपर्वमा उनी लेख्छन्–

चक्रैसरी युरुप आदि घुमेर कूलो
आऊँछ दिनै फिरि हुन्छ ठूलो ।
हे भाइ यो मन सधै नगरी धमीलो
बन्नेछ कार्य गरि ने बुझ यो रसीलो ।।

नरेन्द्रनाथ प्राचीन र आधुनिक विश्व इतिहासका अध्येता र ज्ञाता थिए । त्यसैले उनले प्राचीन महाभारतमा मात्र कलम नचलाई आधुनिक युगको प्रथम विश्वयुद्धलाई केन्द्रबिन्दुमा राखेर समकालीन विश्वराजनीतिक परिस्थितिमा साधारण रचना गरे– ‘युरोपीय महाभारत’ । विश्वको राजनीतिक परिस्थितिमा साधारण जनताले पनि सहज रुपमा बुझ्न भनेर उनले उसलाई प्रचलित लोकगीत सवाई छन्दमा रचे । १९७७ मा प्रकाशित नयाँ भारतको सुरुवात यस्तो छ–

सुन सुन भाइ हो चारौतर्फ भारी
पृथिविमा घेरियको समुन्द्रको पारी ।
टापुहरु युरोपमा नाना रितका छन्
आधा रुस यतातिर यसिया कहन्छन् ।।

इनी दुवै देशमुखि समुन्द्रको तल
अम्रिका छ युरोपले भन्दछन् पाताल ।
लेखियाको तिनै ठाउँ सबै पृथ्वीभर,
डगमग सबैलाई पार्यो थरहर ।।

भन्छु भाइ सवाईमा घोर युद्ध सनु
महाभारतपछि यही ठूलो युद्ध गुन

लाखौ मानिसको संहारसहित संसार हल्लाउने त्यो युद्ध काहाँबाट सुरु भई कहाँ–कहाँ फैलियो र त्यसले कस्तो परिणाम देखायो, सजीव वर्णन गरेका छन् रिमालले । देखे सुनेका घटनालाई कविता–काव्यमा सबै कविले प्रस्तुत गर्छन् । त्यस महायुद्धका विशिष्ट परिणामलाई बुझेर नवोदित परिस्थिति आकलन गर्दै राणाकालीन शासकलाई समेत परोक्ष रुपमा चुनौती दिनु कवि रिमालको विशेषता हो । उनका दुवै महाभारतका नयाँ संस्करण हालै प्रकाशित छन् । जेठ २२ गते नरेन्द्र वाङ्मय निधि प्रतिष्ठानले उनको १२८ औं जयन्ती काठमाडौंमा मनायो ।

(वि.सं. २०६५ जेठ ३२ को कान्तिपुर दैनिकबाट)


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित