भगवतीको स्तुति गरी शस्त्र रूखमा राखेर पाण्डव विराटभवनमा प्रवेश

पाण्डव बाह्र वरष् बिताइ वनवास् सल्लाह निश्चय गरी ।
मत्स्यै देशमहाँ विराट नृपथ्यैँ फेर् एक वर्षै भर ।।
जाई गुप्त बसेर काटुँ दिन यो धर्मी ति छन् राम्ररी ।
होला सुख्ख भनी मतो गरि तहाँ नाम् कामको ठीक् गरी ।। १ ।।

लागे गर्न स्तुती त्रिलोक् जननिको राजा युधिष्ठिर् अनि ।
माता नाथ अनाथको हजुर हौ दुःखी पतित्तारिणी ।।
हे त्रीलोक निवासिनी भगवती संहार उद्धारिणी ।
पाताल्मा घुसदा अकाश उडदा जल्मा र थल्मा अनि ।। २ ।।

बल्दो अग्नि चऊतरफ् बिच परी लागी पवन् खूब् गरी ।
हाहाकार अघोरको दुख हुँदा नाम् लीइ जान्छन् टरी ।।
भन्ने खातिरमा जगत् जननि हे दुर्गा भनी नाम् धरी ।
हे अम्बे भजछन् प्रषे हजुरको पाऊ सबै हर् घडी ।। ३ ।।

मेरो कष्ट निवारि बक्सनुहवोस् राजा युधिष्ठिर् भनी ।
माताको दरशन् र आशिष मिली हीँडे खुसीले अनी ।।
राज्धानी नजिकै पुगेर सबले यी शस्त्र अस्त्रैहरू ।
चिन्नेछन् नलगूँ हुनेछ दुख त्यो फेर् बाह्र वर्षै अरू ।। ४ ।।

यस्तो निश्चय ली श्मशान् जनिक एक् ठूलो शमी रूखमा ।
मूटूरा कसि अस्त्र शस्त्रहरु सब् माथी चढी झाम्ममा ।।
बाँधे अर्जुनले उसै नजिक फेर् एक् ल्याइ मुर्दा पनि ।
बाँधदीए अरुले शस्त्र कहिले छूँदै नछोउन् भनी ।। ५ ।।

येती काम गरी विराट् भवनमा पैल्हे युधिष्ठिर् गए ।
देखी तेजस्वरूप छक् सब परी वीराट सोद्धा भए ।।
साह्रै दङ्ग भई युधिष्ठिरजिले बोले ति विन्ती गरी ।
हे राजेन्द्र मता युधिष्ठिरकहाँ थीएँ मितैको सरी ।। ६ ।।

बस्थेँ आश्रयहीन भो र अहिले आएँ हजुर्मा पनि ।
पासा खेल्हरु खेल्न जान्दछु सबै नाम् कङ्क मेरो भनी ।।
बुझ्नोस् दुःख पर्यो म जान्दछु अती राज्काज काम् के गरूँ ।
ऐल्हे एक् दिइ रोटि राखनु हवस् सूनेर यी बात्हरू ।। ७ ।।

आज्ञा भो ति विराटले खसि भई हे कङ्क तीमी यहाँ ।
शोभा धेर बढाइ लौ बसिरहू मेरा सभा बीच्महाँ ।।
मूसाहेब भयौ प्रजाहरु सबै माननन् मलाई झईँ ।
हुकुम् सूनि सलाम् गरी तहिँ बसे खुस् भै युधिष्ठिर् गई ।। ८ ।।

पौँचे फेरि वहाँ त भीम्सिन झुली हात्ती हिँडेझैँ गरी ।
देखी सुन्दर रूप लामु चउँडा आश्चर्य वीराट् परी ।।
हेरे एक्टकले र झट्ट भिमसेन् हात् जोरि विन्ती गरे ।
मै हूँ हे महराज् युधिष्ठिरजिको भान्छे दुखै भो हरे ।। ९ ।।

साह्रै आपत भो चले वनमहाँ आएँ हजुर्मा यहाँ ।
आश्रय् बक्सनुहोस् बनाउँछु मिठो ज्यूनार राम्रो महाँ ।।
हात्ती सिंह सहज् पछार्छु वनको नाम् वल्लभै हो भनी ।
भान्सेको सरदारि बक्सनु भयो राजा विराट्ले अनि ।। १० ।।

रानी द्रौपदि फेर् हिँडी सटकमा दर्बार् नजीकै पुगिन् ।
सूदेष्णा महरानिका नजरले झ्याल्बाट देखी लिइन् ।।
रूप्मा मोह भई बुलाई तिनिको हूकूम गर्दी भइन् ।
हे देवी तिमि सुन्दरी मृगनयन् हौ दव् मनुष्यादि कुन् ।। ११ ।।

साह्रै मोह भएँ बताउ सब थोक् के काम घुम्छ्यौ तिमी ।
मेरासङ् बसि सोख भोग तिमिले होवैन क्यै बात् कमी ।।
यस्तो बात सुनेर द्रौपदिजिले दुख् पोखि विस्तार् गरिन् ।
हे माता अघि द्रौपदीकि सखि हूँ ऊ बिग्रि वन्वास् भइन् ।। १२ ।।

के गर्नू सुनि नाम् चलेँ हजुरको शर्णै छु कष्टै परी ।
केश्–बन्धन् द्रुपदीजिको म गरथेँ नानारकम् खुस् गरी ।।
घर्को कम म जान्दछू अरु पनि शर्णै हजुर्ले लिए ।
जूठो छुन्न म पैर दाब्दिन कसै यो बात पञ्जुर् भए ।। १३ ।।

बसछू हूकुमको शिरोपर धरी गन्धर्व पाँच् छन् पति ।
मेरो ता अनुचित् गरे तिनइँले मार्छन् नराखी कति ।।
रक्षा गुप्त हिसाबले ति गरछन् सैरन्धि नाम् हूँ भनिन् ।
सूदेष्णा महरानिले वचन यो सूनेर पञ्जुर् गरिन् ।। १४ ।।

रानी द्रौपदि फेर् रहिन् श्रिसहदेव् पूगे विराट्जी कहाँ ।
सोधे काम र ठाम् सबै कहिदिए नाम् तन्त्रिपाल् हूँ वहाँ ।।
गाईको पनि काम जान्दछु भनी दीए उही काम् तहाँ ।
तिन्को बाद पुगेर स्त्री सरुपले वीराट साम्नेमहाँ ।। १५ ।।

बोले अर्जुनले वृहन्नल म हूँ नाच्गानमा खूब् गरी ।
ठूलो कूशल छू हुकुम् यदि भए राज्पुत्रिको राम्ररी ।।
शिक्षा दिन्छु भने विराट नृपले राम्रो परीक्षा गरी ।
खोपीमा तहिँ पठाइदिनुभो जाहाँ थिइन् कूबरी ।। १६ ।।

अर्जुन्ले गइ नाचगानहरुको तालीम् गरे बेसरी ।
पूगे फेर नकूल सुन्दर अती देखेर चन्द्रै सरी ।।
सोधे राजनले तिमी कउन है के जान्दछौ काम् भनी ।
यस्तो प्रश्न सुनेर ती नकुलले ग्रन्थीक नाम् हो पनि ।। १७ ।।

राम्रोरी रथ हाँकनै निपुण छू घोडाहरूको अनि ।
सारा लक्षण जान्दछू शुभ अशुभ् नीघा म पाऊँ भनी ।।
यस्तो विन्ति सुनेर अस्तबलमा राजा विराट्ले तहाँ ।
मूखीया पनि गर्दिए खुस भई बस्दा भए सब् वहाँ ।। १८ ।।

आफ्ना काम गरेर दिन्भर बसी धेर् रात बित्दा गई ।
मिल्थे निश्चय ठाममा पनि सबै जम्बा ति पाण्डव् भई ।।
आफ्ना दुख् सुखको बयान गरथे सारा चरित्रै कही ।
अर्को दिन् अरु ठामको ठिक गरी चाँडै छुटिन्थे तहीँ ।। १९ ।।

आफ्नू आफनु काममा तिनि सबै पाण्डव्हरूले गई ।
राजालाई प्रसन्न खुप् पनि गरे राम्रोरि साव्धान् भई ।।
घोडा सुन्दर शीघ्रगामि बहुतै त्यो आश्वशाला भरी ।
पारे तीनि नकूलले अनि तसै गाइ दुधालू गरी ।। २० ।।

बुद्धी धेर् सहदेवले तहिँ गरे अर्जूनले फेर् वहाँ ।
नाचै गानमहाँ खुसी नृप गरी दिल् खैँचि लिन्थे तहाँ ।।
व्याख्यान् श्रीनृपती युधिष्ठिरजिको राज्नीति सूनी लिई ।
राजा फेरि प्रजाहरू मन बुझी बस्थे ति शिष्यै झईँ ।। २१ ।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित