एघारौँ दिन कर्णले चोला अनित्य छ भनी दर्शाई सुर चढाई, भार बोकी फेर
भीष्मकहाँ गई, आई सेनापति द्रोण भई युधिष्ठिरलाई पक्रन खोजी लडेको

सूती भीष्मजि बाणमा अरु फिरे त्यो रात सेना गई ।
ऊदास् धेर भएर कौरव तरफ् फेरी उज्यालो भई ।।
सारा चेत भएर ग्यार दिनमा कम्बर् कसी रीस् चढी ।
निस्के शीविरबाट तैपनि तहाँ सिँहै जुझेझैँ लडी ।।१।।

मर्दा जङ्गल शून्य हुन्छ उहि ठीक् श्रीभीष्म शैया परी ।
सारा कौरव दिक्कदार हुनगो सेना अनाथै सरी ।।
आयो याद अनी सबै पुरुषको वीर् कर्णको त्यो घडी ।
पैल्हे बेस् विर ता म छू खुप भनी गर्थे ति डीँगै बढी ।।२।।

त्यो हेतू सब बर्ण हे करण हे भन्दै पुकारा गरी ।
बोले हे विर कर्ण यो बखतमा तिम्रो त पाली परी ।।
आयो लौ रण गर्न बख्त अहिले भन्दा ति आगे सरी ।
निस्के शीविरबाट कर्ण विरले खूब् आर्तनादै गरी ।।३।।

बोले ती सब सैन्न्यको त सनमुख् हे भाइ हो बेसरी ।
जान्ने वेद पुराण दिव्य हतियार् निन्दा सदा दूर् गरी ।।
भन्ने प्रीय वचन् पराक्रमि अती फेर् हेर जीवन् भरी ।
ब्रम्हैचर्य बिताउने गिरनु भो श्रीभीष्म शैया परी ।।४।।

हाम्रो के छ पराक्रमै त अब ता बुझ्छू मरेकै झईँ ।
केही वस्तु त छैन यो जगतमा नित्यै सदा थिर् भई ।।
सारा बीजुलिझैँ छ चञ्चल अती देख्यौ त साम्ने लडी ।
श्रीपीतामह छीनमा सकलको जानूभयो छोड दी ।।५।।

निश्चय नै यिनि सैन्न्यहरुको शोक् हुन्छ एक् दिन् मरी ।
पैल्हे नै सब हामि शोक गरि ल्यूँ बोलेर दुःखित् परी ।।
रोए कर्ण वहाँ नजर् वरिपरी लीएर आँसू भरी ।
त्यो सूनी हृदयै भयो त चुरचूर् मन् थाम्न मुस्किल् परी ।।६।।

लागे कौरव सैन्य फेर् रुन सबै दिक्दार साह्रै भई ।
केही बेर पछि फेरि कर्ण विरले उत्साह धैर्यै दिई ।।
सबलाई सुरमा चढाउन भनी बोले अनित्यै अति ।
देख्छू यो सनसारलाई मइँले भाई विचारी मति ।।७।।

लेऊ भीष्मजिलाई हामिहरुको सम्मूख मारे अरि ।
साँचै हो अर्जूनको बलमहाँ राजाहरू क्यै गरी ।।
सक्तैनन् टिकनै म जाइ रणमा जस्तो हिसाब्ले वहाँ ।
भीष्मैले पनि हेर्नुभयो यि कउरव् दस्दीन सेनामहाँ ।।८।।

रक्षा गर्नु भयो म गर्छु उहि रीत् उत्साहहीन्का यिनी ।
सेना जो सब घाउले पिडितका रक्षा त गर्नै पनि ।।
बोकेँ भार् अहिले कि पाण्डवकनै मारेर संसार भरी ।
लिन्छू यश् कि त वीरको गतिमहाँ जान्छू म आफैँ मरी ।।९।।

साहायै गरने ति अर्जुन तरफ् छन् कृष्ण संसार्पति ।
जित्नै मुस्किल देख्छु तैपनि यहाँ मार्छू कि वीर्को गति ।।
जान्छू पार् भनने ति कर्ण विरले यस्तो प्रतिज्ञा लिई ।
बोलेको सुनि सैन्न्य कौरवहरू गर्जे ति सिंहै झई ।।१०।।

ऊठे फेरि सबै प्रसन्न मुख ली झल्केर झल्झल् गरी ।।
सारा सैन्यहरू लडाइँ गरनै खुस् भै तयारी परी ।।
बाजा शङ्ख पनि बजाउन तहाँ लागे सबै खूब् अडी ।
कर्णैले अनि भीष्मको सँग गए फेरी रथैमा चढी ।।११।।

रूँदै आँसु भरेर नेत्र दुइमा पूगी प्रणामै गरे ।
बोले हे करुणानिधान अहिले कर्णै चरण्मा परे ।।
आयाको छु नजर् उघारनु हवोस् कल्ल्याण मेरो गरी ।
आज्ञा होस् वध गर्नु भो विर अनेक् सुक्ला छ सिंहैसरी ।।१२।।

नाशी पाण्डव सैन्न्य यो गत भयो बाटो त स्वर्गै गरि ।
ऐल्हे क्रोधित बाघको तरह जो थर्राइ पाण्डव् अरि ।।
झुन्डै कौरवलाई नाश गरछन् रक्षा त गर्ने गई ।
कोहीलाई म देखदीन अब ता छन् पार्थ अग्नी झईँ ।।१३।।

वायूझैँ बहि कृष्णले यि कउरव् वन्को त भस्मै गरी ।
निश्चय आज लजाउँछन् ति किरिटी गाण्डीव हातमा धरी ।।
उन्को को जितिसक्छ लौ तर यहाँ आशिष् हजुर्ले दिई ।
हूकुम् होस म शस्त्रको त बलले तोडूँ घमण्डै गई ।।१४।।

तिन्को यो सुनि बात भीष्म विरले बिस्तार खोली नयन् ।
गर्नूभै विर कर्णको अघि तहाँ ठूलो प्रशंसा कथन् ।।
यसतो रीत्सित भन्न लागनु भयो हे कर्ण तिम्ले सुन ।
दिन्छू जीत भयो अनूमति यहाँ सारा यि शत्रूकन ।।१५।।

जित्नालाई समर्थ कर्ण तिमि हौ वीचार दुर्योधन ।
नाती हुन् तिमि स्वैसरी पनि हऊ धर्मानुसार् ली मन ।।
रक्षा लौ गर कूरुकूल बिचमा तिम्रै भरोसा यहाँ ।
जान्छन् कौरवको गणैहरु पनि उन्मत्त भै रणमहाँ ।।१६।।

यो हेतू तिमिले तिनीहरुकनै रक्षा गरे खुब् तहाँ ।
यस्तो अर्ति सुनेर श्रीभिष्मको ढोगेर पाऊमहाँ ।।
आई ती विर कर्ण सैन्यहरुमा उत्साह फेरी दिए ।
लड्नालाई तयार् गरे फउजको दुर्योधनै खुस् भए ।।१७।।

कर्णैलाई लगाइ हिर्दय अनी बोले मधुर् स्वर् गरी ।
सेना यो अहिले सनाथ हुनगो तिम्रा भरोसा परी ।।
गर्नूपर्छ कुरा हितै अब हुने सेनापती नै वरूँ ।
कस्लाई पनि ता बनाउनु यहाँ वीचार राम्रो गरुँ ।।१८।।

जस्तो माझि असल् नभेर डुबछन् नाऊ उही रीत् यहाँ ।
सेनाको पति बेस् नभै फउजको हूनेछ रक्षा कहाँ ।।
यो हेतू विर भीष्मको सरि तिमी क्वै योग्य वीर्को गुनी ।
खोजी आज निकाल त्यो पुरुष को गर्छू म निश्चय सुनी ।।१९।।

सेनाको पति वीर त्यो पुरुषको तुल्याउँछू लौ भनी ।
यस्तो ताहिँ वचन् सुनी करणले विन्ती गरे फेर् अनि ।।
हे राजन् हुनलाई तानि अहिले सेनापती पद् यहाँ ।
खोज्छन् नृपति सब् तथापि तिनिको हूनेछ सब्को कहाँ ।।२०।।

एक् देखी बढता त एक् बखतमा हूँदैन निश्चय यहाँ ।
साधारण् नृप क्वे भयो यदि भने मर्छन् यि रीस् रीस्महाँ ।।
सुन्नूहोस् यस हेतु शस्त्र धरनेहेरू महाँ श्रेष्ठपन् ।
सेनाका पति हूनु लायक अती ज्ञानी पुरुष् द्रोण छन् ।।२१।।

सेनाको पति लौ बनाउन हुँदा हुन्छन् सबै खूस नै ।
भन्ने बात तहाँ ति कर्ण विरको मानेर दुर्योधनै ।।
द्रोणाचार्यजिको गई नजिकमा सेना बिचैमा अनि ।
बोले हे गुरु हूनुहुन्छ नितिवान् फेरी तपस्वी पनि ।।२२।।

बल्वीर्यै भइ अर्थ ज्ञानहरु ता जान्ने हजूरै पनि ।
कुल्मा श्रेष्ट ठुलो सबै गुणनिपुण् जान्ने हजूरै पनि ।।
होईबक्सनु हुन्छ आफु सरिको सेनापती नै बनी ।
बस्ने मानिस देखिइन्न दुसरा योग्यै पुरूष् क्वै पनि ।।२३।।

सेनाका पति नै तपाइँ हुनुभै वीर् शत्रुहेरू तिनि ।
सेखी बाल् अभिमन्यु अर्जन यहाँ जित्नोस् हजुर्ले पनि ।।
सक्तैनन् अरु जित्न येस रितले सेनापती पद् लिई ।
रक्षा गर्नु हवोस हामिहरुका राजन् फउज्को गई ।।२४।।

मञ्जुर् गर्नुहवोस् तपाइँ अहिले सेनापती जो यहाँ ।
येदी बन्नुभए ति पाण्डवहरू जित्छू म छोड्छू कहाँ ।।
यस्तो बात तहाँ श्रिद्रोण गुरुले मञ्जुर् गरी लीनुभो ।
सारा सैन्य अनी खुसी हुन गई हर्षै जये शब्द भो ।।२५।।

राम्रोरी अभिशेष द्रोण गुरुको दुर्योधनैले तहाँ ।
वीधी पूर्वकले गरे अनि पछी आचार्य द्रोण्ले तहाँ ।।
अद्ली बद्लि फऊजको गरनु भै काम्काजको ठीक् जसै ।
सारा सैन्य गरेर युद्धभमिमा हिँड्दा भए फेर् तसै ।।२६।।

देखे कौरव सैन्यले करणको साथमा चलेको अनि ।
लागे बोलन वीरहरु सबले छन् वीर् कर्णै पनि ।।
मार्छन् पाण्डवको अवश्य अहिले भन्दै पुगे रणमहाँ ।
राम्रो खूब तयारि भो रणविषे फेर् पाण्डवैको तहाँ ।।२७।।

सेना आइपुगेर द्रोण गुरुले आफ्ना फउज्को ठुलो ।
गर्नूभो शकटै त व्यूह रचना फेर् गर्न पाण्डव धुलो ।।
क्रोञ्चैव्यूह तयार् त्यस तरफ् त्यो व्यूहको मूखमा ।
जोती अश्व सफेत् कपिध्वज लि रथ् अर्जुन् बसे द्वारमां ।।२८।।

सेनाका सनमूखमा बसिरहे सेनापतीको तहाँ ।
आज्ञा पाइ ति दूइ दल् भिडिगए ठूलो भयङ्कर्महाँ ।।
लागे फेर् रण गर्न एक छिनमा संहारकारी ठुलो ।
द्रोणाचार्यजिले त पाण्डव तरफ् सेना गरे खूब् धुलो ।।२९।।

छिन्नैभिन्न गरेर व्यूह सहजै तोडेर भित्रै गमन् ।
गर्नूभो तहिँ छिन्नभिन्न पनि मेघ् पार्छन् जसोरी पवन् ।।
तेस्तै रीत्सित द्रोणको शर गडी अत्यन्त पीडा भई ।
सेना पाण्डवका यताउति तहाँ लागे ति भाग्नै गई ।।३०।।

हज्जारौँ रथि हात्ति अश्व पइदल् हानेर बाण्ले अरि ।
द्रोणाचार्यजिले त नाशनुभयो गिर्दा भए धेर् मरि ।।
रोमाञ्चै हुनगो सबैकन तहाँ कोलाहलै खूब् गरी ।
भागे द्रोण् गुरुले त बाणहरुको पारे ति जालै सरी ।।३१।।

देखी त्यो धनुबाट बाण मुसलो क्वै वीर साम्ने परी ।
जानालाई समर्थ भेन उ बखत् जस्तो प्रकारै गरी ।।
घुम्छन् बादलमा बिजूलि उहि ठीक द्रोणको रथै चौबरी ।।
लाग्यो घूमन त्यो रणस्थलमहाँ मुर्दा बहूतै गरी ।।३२।।

सारा त्यो रणभूमिमा रगतको खोलो बह्यो त्यो घडी ।
सेना पाण्डवका जितेर गुरु द्रोण् यूधिष्ठिरै सङ् बढी ।।
पूगे रूधिरको नदी तरितरी आफ्ना सहायक् लिई ।
लागे ती रिसले त पाण्डव फउज् वार्पार गर्नै गई ।।३३।।

यस्तो देखि लिएर माँरथिहरू ती पाण्डवैका तहाँ ।
जम्बा भै सनमुख् गएर सबले श्रीद्रोणचार्यैमहाँ ।।
वर्षा बाण गरेर खूब्सित लडे यस्तै बखत्मा अनि ।
शल्यै फेर् अभिमन्यु वीर दुइको साम्ना भइगो पनि ।।३४।।

विद्या युद्धमहाँ दुवै पुरुष ती जान्ने बहूतै अति ।
थीए खुब् अभिमन्युलाई रणको तालीम थीयो जति ।।
कृष्णैले त सिकाइ नीपुण थिए हुन्थे ति कम्ती कहाँ ।
धेर् बेर् युद्ध गरे दुवै वीर अनी आएर क्वै नृप् वहाँ ।।३५।।

हानी बाण् अभिमन्युका त करको काटे धनुको जसै ।
गीराए अभिमन्यु क्रोध हुनगै काँपेर तर्वार् तसै ।।
ठूलो ढाल लिएर झट् रथमुनी ओल्र्हेर पैदल् बढे ।
मार्दै अश्व र हात्ति झम्टि रथमा त्यो राजनैको चढे ।।३६।।

शीखा पक्रि लिएर काटि शिरको तर्वारले फेर् तरी ।
मारी सारथिको अनी अरु फउज् लागे ति नाश्नै अरि ।।
तेही औसरमा त शल्ल्य विरले शक्ती चलाए अनि ।
देखी त्यो अभिमन्युले शकतिको हातमा समाते पनि ।।३७।।

हाने तेहि लिएर शक्ति तिनिले ती शल्यलाई जसै ।
ढाल्तर्वार लिएर झट् कुदिगए शल्यै जमिन्मा तसै ।।
चोट् लागीकन सारथी मरिगयो त्यै शक्तिका पिर्महाँ ।
फेर् शल्यै अभिमन्युले लि तर्वार् जूधे ति वीर्वीर् वहाँ ।।३८।।

धेरै बेर लडेर एक् समयमा तर्वारको वार् गरे ।
लाग्यो ढालमहाँ र चुर्चुर भयो कुदेर दूवै सरे ।
आफ्नू आफनु ती नयाँ रथमहाँ पूगेर फेरी बसी ।
लागे छोडन बाण् झरीसरि गरी कम्बर् दुवैले कसी ।।३९।।

देखी ती अभिमन्युको बल अती पाण्डवहरूका खुसी ।
सारा सैन्य भएर सिंहसरिको गर्जी दिए स्याबसी ।।
दोस्रो सारथिको पनि सहजमा मारे अभीमन्युले ।
ठूलो रीस चढेर लीकन गदा दौडीगए शल्यले ।।४०।।

पूगेती अभिमन्युले पनि गदा लीएर खूब् बेगले ।
रथदेखी कुदि गर्जिगर्जिकन गै लल्कार् गरे जोडले ।।
भीमसेनले तहिँ खूब रोकनुभयो शल्यैसँगै तीमिले ।
लड्नूलाई गदामहाँ छ अनुचित् भन्दा भए तीनिले ।।४१।।

मानेनन् तब भीमसेन् लिइ गदा रथदेखि झट्टै मुनी ।
दौडे ती अभिमन्युको गरि पिछा भीम्सेनजीले गुनी ।।
शल्यैको सनमूखमा पुगिगए खूसी सबैका भयो ।
आयो प्राण ति पाण्डवादिहरुको कारण् त डर्कै थियो ।।४२।।

शल्यैको पनि चोट भिम्सिन बिना खप्ने गदा चोट् अडी ।
थेनन् क्वै अभिमन्युको उसघडी जान्थ्यो त हंसै उडी ।।
लागे लड्न ति शल्य भीमसिन तहाँ हान्दै गदा खूब् गरी ।
जान्ने धेर थिए लडे वीरहरू टक्कर् गदाको परी ।।४३।।

आगो धप्धप उठ्दथ्यो दुइजना खोजेर घात् खूब् गरी ।
चाल् बद्लीबदली विचार् गरिगरी क्रोधातुरै धेर् परी ।।
हट्थे फेर् बढथे ति झम्टिझमटी एक्साथ जोरै गरी ।
हाने बेसरि त्यो गदा पिर पर्यो चोट् लागि दूवै थरी ।।४४।।

मूर्छा भै भुमिमा गिरे यकबखत् कृत्वर्म जल्दी गई ।
दौडी गैकन शल्यलाई रथमा राखे उठाई लिई ।।
शल्यैलाई लिएर आफनु रथै दौडाइ बाहिर् गए ।
हीँडे ती रथदेखि लौ तर तहाँ भीम्सेन मुर्छा भए ।।४५।।

आयो होस् यकछीनमा पनि तहाँ हातमा गदा फेर् लिई ।
लागे तीनि अघोर शब्द गरनै काल्को समानै भई ।।
यस्तो देखिलिए कौरव फउज् ऊडेर होसै गई ।
लागे तीनिहरू यताउति तहाँ भागे सबै डर् भई ।।४६।।

द्रोणाचार्यकनै त पाण्डव फउज् मीलेर साराहरू ।
खोजे फेर् तहिँ रोक्नलाई रति जोर् पूगेन वीर्को अरू ।।
बाण् हानी सबको अचेत गरि दी राजा युधिष्ठिर्कनै ।
झम्टे गै गुरुद्रोण दिक् हुन गयो पाण्डव् फउज्को मनै ।।४७।।

हाहाकार भयो ति विह्वल भई येता उतीमा सबै ।
दुर्योधन् नृपको मनोरथ सफल् होला भनेझैँ तबै ।।
देखीयो गुरुद्रोण् युधिष्ठिरकनै मार्छन् कि पक्री अबै ।
सुम्पन्छन् दुरजोधनै नृपतिमा भन्थे सबैले तबै ।।४८।।

हावाको सरि जोर् युधिष्ठिरतरफ् बेरोकटोकै भई ।
आयाको रथदेखि द्रोण गुरुको पाञ्चाल वीर्ले गई ।।
क्रोध् भै बाण धनू लिए तर तहाँ तीनी बिचारा कहाँ ।
सक्थे सम्मुख तै पनि त दुइचार् बाणै चलाए तहाँ ।।४९।।

फेरी श्रीगुरुद्रोणले ति विरको काटी गिराए जसै ।
साहायै विनुका युधिष्ठिर भए तेसैबखत्मा तसै ।।
द्रोणाचार्यजिले युधिष्ठिरकनै सक्थे ति बाँधीलिनै ।
मुस्किल् केहि थिएन फेरि अजजुन् आए ति मद्दत् दिनै ।।५०।।

सूनी यो रथको अवाज र तहाँ धोजा उपर्मा जहाँ ।
देखीए हनुमान गाण्डिव धनू टङ्कार् सुनी यो वहाँ ।।
केही दूरमहाँ ति कौरवसँगै लड्दै थिए तापनी ।
द्रोणाचार्यजिले युधिष्ठिरकनै पारे विकल् यो सुनी ।।५१।।

आए अर्जुन बेगले रथ लिई फेर् गूरु शिष्यै तिनी ।
लागे लड्न दुवै र अर्जुनजिले बाण् हान्न्को धेर् अनी ।।
देखाए तिनिले करामत तहाँ श्रीद्रोणको बेस् गरी ।
मट्टीमा मिलिगो समात्न मनको युधिष्ठिरैको धरी ।।५२।।

पक्रीलीन त दूरमा अब गयो आफ्नू बचाऊ जसै ।
गर्नै मुस्किल भो ति अर्जुनजिको तेजस्वि बाण्ले तसै ।।
साहायै गरने ति द्रोणगुरुका हाहा सबै कुच् भए ।
त्यो बेला झन सूर्यअस्त हुनुभो खुस् भै शिविर्मा गए ।।५३।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित