पन्ध्रौँ दिनको आखिर कर्ण सेनापति, सोह्रौँ दिन कर्ण अर्जुनले धेरै सैन्य
नृपति र भीमसिनले क्षेममूर्ति वध, कर्णले नकुललाई पक्री छोड्नु कबन्ध धेर उठ्नु, सत्यसेन वध

पन्ध्रौँ दीनमहाँ श्रि द्रोणगुरुजी मध्यान्नमा प्राण् गयो ।
मृत्यूको पनि केहि बेर् दुइतरफ् दिक्दार भै चुप् भयो ।।
ऊदासी सबले भए अनि उठी दुर्योधनै फेर् गए ।
सेनानायक पद्वि दी करणको यो बात बोल्दा भए ।।१।।

रक्षा लौ गरि फौजको लड भनी दूवै फउज् फेर् बढे ।
सन्ध्यातक् उस दिन् त युद्ध हुन गो मार्काट् गरी खूब् लडे ।।
अस्ताचल् जब सूर्य डूबन गई यो द्वीप् अँध्यारो भयो ।
सेनाहरु थकित् थियो खुसि भई रण् छोडि बास्मा गयो ।।२।।

कौरव् पाण्डव सम्झि रोइ गुरुको पूगे ति दिक्दार्महाँ ।
दुर्योधन् विर कर्ण आदिहरुले बात्चीत गर्दै तहाँ ।।
जीत् होला कसरी भनी व्यतित बात् नाच्यो त आँखामहाँ ।
छर्लङ्गै पनि जागरामसरि झैँ त्यो रात् बिताए तहाँ ।।३।।

सोर्हौँ दीन बिहानको समय भो सब् नित्यकर्मै गरे ।
जो मील्यो उहि खाइ फौजहरुले फेरी रणस्थल् भरे ।।
झम्टे पाण्डवतर्फ कर्ण विरले बट्टाइमा बाज् झईँ ।
फेर् कौरव्कन सिंहले मृगसरी छोपे श्रिअर्जुन् गई ।।४।।

हाथी पैदल अश्वको ति दुइले काटे बिऊझैँ छर्यो ।
तोमर् ताहिँ गदा धनूष विरको शब्दैहरूले भर्यो ।
काँप्थिन् पृथिवि थर्थरी शब्दले भीम्सेन् गजैमा चढे ।।
दुर्योधन्नृपका ति भाइहरु सङ् सङ्ग्राम् गरी खूब् लडे ।।५।।

क्षेम्मूर्तीनृपले ति भीमसिनको हात्ती तहाँ मार्दिए ।
रीस्ले चूर अनी ति भीमसिन कुदी भैँमा गदा नै लिए ।।
हाने फेर् झमटेर क्षेम्मुरतिको हंसै चली गो उडी ।
ठूलो शब्द गरेर भीमसिनले हीँडे ति कौरव् कुदी ।।६।।

नाग्का सङ्गमहाँ भई गरुडझैँ निर्धक्कमा नै पडी ।
सेना कौरवलाई ता बिनिबिनी मारे तिनीले लडी ।।
देखी त्यो अहवाल त्यो रणमहाँ श्रीअश्वथामा बढी ।
तीखा बाण लिएर भीमसिनको हाने घुस्यो बाण् गडी ।।७।।

झम्टे फेर् गुरुपुत्रको ति रिसले गर्जेर भीम्सेन् तहाँ ।
ताकी ताकि ति मर्म ठामहरुमा हान्थे दुवै क्रोध्महाँ ।।
एक्एक् बाण परस्परै दुइ जना हानेर मूर्छा परे ।
तूरुन्तै यक साथमा दुइ जना गीरी रथैमा झरे ।।८।।

फेरी सारथिहरुले रथ लगी राखे तहाँ दूर् गरी ।
आर्को तर्फ त पार्थले वध गरी भागे ति कौरव् डरी ।।
त्राहित्राहि मच्यो उता करणले जागेर तेस्तै गरी ।
खल्बल् पारिदिए ति पाण्डव फउज् मारेर सातो हरी ।।९।।

फेरी एक बखत् ति कर्ण विरको पाण्डवहरूका अनि ।
ठूलो सैन्य मिलेर हात्तिहरुको घेरा गरे खूब् पनि ।
क्यै किञ्चित् तर कर्णले नगरि ती मारे मुसाझैँ गरी ।
निस्के बाहिर कर्ण रात् बिति तहाँ सूर्यौ उदाए सरी ।।१०।।

मारे बाहिर आइ फेर् करणले राजा हजारौँ अरि ।
शिर् काटे टनकार् धनुष् गरिगरी चारौँ तरफ् खूब गरी ।।
लागे घूमन कोहि वीर उबखत् साम्ने गएनन् डरी ।
शिर् ऊँचा गरि खुस् भए उसघडी दुर्योधनै बेसरी ।।११।।

गद्गद् भो अति नाचि कौरवहरू दुःशासनैले खडा ।
देखी ली सहदेव आ लडुँ भनी हाँकै दियो खूब् कडा ।।
सूनी हाँक् सहदेवले पनि भने लौलौ खडो बस् खडो ।
भन्दै आक्रमणै दुशासन उपर् गर्दा भए धेर् कडो ।।१२।।

सङ्ग्राम् भो वीरको अनि पछी दुःशासनैको तहाँ ।
पारे मूर्छित बाण हानि अनि फेर् शङ्खै बजाए वहाँ ।।
राजा धेर नकूलले पनि वहाँ कौरव्तरफ्का गिँडे ।
लागे स्याल्हरु खान गर्जन गरी कौरव् बिचैमा हिँडे ।।१३।।

घोचे कर्ण अनी उसै थलमहाँ बोले नकुल्ले तहाँ ।
देखीयौ पनि धेर दीन बिचमा मेरा नजिक्मा यहाँ ।।
कारण् यो सब बातको जड तिमी ऊखाड्छु बूझे गमी ।
मेरा बाण्हरु देखि रक्षित भई ऐल्हे बसै है जमी ।।१४।।

भन्ने प्रश्न सुनेर हाँसि धनुधर् वीर् कर्ण बोले तहाँ ।
मूर्खैले म त हूँ बडो भनदछन् गर्जन्छ वीर्ले कहाँ ।।
कर्मैले गरि ती प्रतिष्ठित हुने देखाउँछन् काम् यहाँ ।
भन्ने उत्तर यो सुनी नकुलले क्रोधै गरे मनमहाँ ।।१५।।

छोडी बाण् खुब कर्णलाई तिनिले पानी परेझैँ छरे ।
ती बाणको तर कर्णले त फुलझैँ काटेर खेल्बाड् गरे ।।
लाई आफनु बल् नकुल् जति थियो भर्सक् गरे खूब् तहाँ ।
कर्णैको पनि एक् झरेन रउँ ता नाश् गर्न सक्थे कहाँ ।।१६।।

घोडा सारथि झट् अनी नकुलको ती कर्णले ता तसै ।
मार्दीई रथ टूकटुक् गरिदिए काटे धनू फेर् जसै ।।
लीए फेर् तरवार काटि उसको तिन्ले गदा नै लिए ।
कर्णैतर्फ गए ति वीर् करणले तेस्को पनि काट्दिए ।।१७।।

गीरेथ्यो उ गदा जसै रणमहाँ साम्ने नकूलै डरे ।
भागे फेर् तब कर्णले उस घडी रथदेखि भैँमा झरे ।।
दौडी गै धनुले गला बिचमहाँ बाख्री झईँनै धरे ।
तानी ली ति नकूललाई पकडी हाँसेर खितखित गरे ।।१८।।

बोले हेर नकूल लड्नु रणमा आफ्ना बराबरमहाँ ।
मित्रै गर्नु समान् वृथा बकबकै तिम्ले गर्यौ धेर् यहाँ ।।
तुल्यायौ अति क्रोध् अघी त तिमिले बल् गो कहाँ यो घडी ।
जाऊ यी बलवान कौरवसँगै सुख् छैन तिम्ले लडी ।।१९।।

लड्ने नाम् नलिएर जाउ अब घर् ज्यान् दिन्छु बक्सिस् गरी ।
की जाऊ तिमि कृष्ण अर्जुनसँगै लुक्नै पछाडी परी ।।
भन्दै हाँसि तहाँ ति कर्ण विरले छोडे नकुल् त्यो घडी ।
भागी गै ति नकुल् युधिष्ठिरजिको बस्दा भए रथ् चढी ।।२०।।

कर्णैले पनि फेर् चढेर रथमा पाण्डव् फउज् बेसरी ।
शीथिल् पारि दिए दही झइँ मथी आफ्ना बलैले गरी ।।
कुन्तीका सँगका कबूल समझी छोडे नकुल्को वहाँ ।
आधा दीन हुँदाहुँदा श्रिरविको तेजझैँ बढे रणमहाँ ।।२१।।

तोडे व्यूह विकल् गरे करणले पाण्डवहरूको तहाँ ।
चारौतर्फ मरेर फेरि थुपरो उठ्थे कबन्धै वहाँ ।।
नाचे भूत् बइताल्हरू वरिपरी पीई रगत् खुस् भई ।
रक्तैको नदिमा विरेहरु बहे माछा र ग्राहा झईँ ।।२२।।

देखी यो विर फेरि घायलहरू थीए मुटू नै थिची ।
ठूलो शब्द थियो भयानक अती कूकूर स्याल्ले मिची ।।
हिँड्थे लूछदई धपाइ विर हा थिए भुईँमा थची ।
पाण्डव् सैन्यमहाँ अनी शकुनिले पारे हहाकार् मची ।।२३।।

वीकल् भो कृपले गरेर खुब बेग् फेर् धृष्टद्युम्नै महाँ ।
छोपे आक्रमणै गरी सब फउज् बोले अवश्यै यहाँ ।।
गूरू द्रोणजिको यि आज बदला लिन्छन् यि छोड्छन् कहाँ ।
छोड्दैनन् अब धृष्टद्युम्नकन ता मार्छन् कृपैले यहाँ ।।२४।।

भन्दै वीरहरू दुवै तरफका लड्थे ति तन्मन् गरी ।
धृष्टद्युम्नउपर् अचूक कृपले छोडेर बाण्का झरी ।।
मूर्छा पारिदिएर सारथि लाग्यो ती धृष्टद्युम्नै लिई ।
अर्जुन्का रथको पछिल्तिर तहाँ गर्यो खडा रथ् गई ।।२५।।

अर्जुन्लाइ पनि उसै बखतमा राजा दशौटा भई ।
चार्तर्फै मिलि तीनि अर्जुनजिको घेरे तुरुन्तै गई ।।
लागे हानन सत्यसेन नृपले तोमर् तहाँ एक् लिई ।
ताकी बाहुलि कृष्णको सहजले हान्यो उ चोटै दिई ।।२६।।

हात्को चाबुक फेर् लगाम प्रभुको गिर्यो पिडा नै परी ।
फेरी घाउ ठुलो भयो करमहाँ देखेर क्रोधै गरी ।।
अर्धैचन्द्र पनि उसै छिनमहाँ अर्जूनले बाण् धरे ।
हाने शिर् नृप सत्यसेन विरको काटेर चूर्चूर् गरे ।।२७।।

अर्जुनले तहिँ फेरि राजन अरू अत्यन्त क्रोधै गरी ।
गीँडे ती नृपको फउज्हरु समेत् ढाकेर पृथ्वी भरी ।।
छोप्यो यो रथको हिँडाउन तहाँ मुस्कील हूने गरी ।
दुर्योधन् अनि फेर् गए रथ लिई साम्ने मुहूडा धरी ।।२८।।

यूधिष्ठिर् नृपको पुगे नगिचमा यूधिष्ठिरैले अनि ।
सङ्ग्राम्को मुल दूरजोधनकनै पार्छू समाप्तै भनी ।।
धेरै क्रोध गरेर बाण् तहिँ लिए रथको बढाई वहाँ ।
हाने बाण् दुइले त सर्पसरि झैँ तेज्दार लम्बा तहाँ ।।२९।।

आस्मान्मा तिनि बाण् लपेटि मुसलो लागे ति लड्नै जसै ।
दुर्योधन् नृपले त सारथि अनी घायल् तुल्याए तसै ।।
झट्टै अश्व पनि उसै बखतमा मारी तुल्याए धुलो ।
काट्दीए धनु फेर् युधिष्ठिरजिको शङ्खै बजाए ठुलो ।।३०।।

क्रोधले श्वास खिचे युधिष्ठिर अनी आर्को रथैमा चढी ।
आर्को फेर् धनु दिव्य अस्त्र धिरिली हाने घुस्यो खूब् गडी ।
दुर्योधन्नृप भै अचेत् बहुत बेर् आयो र चेत् रथ् चढी ।।
हाने बाण् तर फेर् पनि त मुरछित् पारे युधिष्ठिर् लडी ।।३१।।

यूधिष्ठिर् महाराजको अनि मदत् भीम्सेन आए बढी ।
बोले हे महराज दुष्ट यसको मार्ने प्रतिज्ञा लडी ।।
पैल्हे नै म गरीसक्या छु अहिले बक्स्योस् यहाँ छोडदी ।
यस्तो विन्ति सुने युधिष्ठिर हँसी हीँडे अरू ठाम् बढी ।।३२।।

रक्षक् जौन थिए युधिष्ठिरजिका छायाँ सरी सङ् गए ।
लागे लड्न ति कौरवादिहरु फेर् कर्णै लि जम्बा भए ।
सेना पाण्डवमा त आक्रमण खूब् दुर्योधनैले गरे ।।
देख्नूभो तब कृष्णले रथ लगी अर्जून आगे सरे ।।३३।।

दूवै वीर् अनि मत्त हात्तिसरि झैँ लड्दा भए खूब् भिडी ।
दूवैले अति लोमहर्षण हुने काट्मार् गरे धेर् गिँडी ।।
बाण् विद्याहरुमा तिनी विरहरू पिण्डत् थिए बेस् गरी ।
साहाये गरदै त दुर्जधनको कर्णै लडे बेसरी ।।३४।।

छोड्थे बाण् विर कर्णले उस घडी अर्जूनले क्रोध् धेर ।
घोडा सारथिलाई मारि रथको टुक्रा गरी चूर् गरे ।।
फेरी शिर् दुरजोधनै नृपतिको काट्ने इरादा लिए ।
खूब् तेज् बाण अनी लिएर अरजुन् जल्दी तहाँ छोड्दिए ।।३५।।

देखी त्यो पनि बाण जल्दि दगुरी श्रीअस्वथामा गई ।
काटे बाण् दुरजोधनै नृपतिको टर्यो विपद् दूर् भई ।।
अर्जुनको सब कौरवादि विरले धेरै रिसै फेर् लिई ।
लागे शस्त्रहरू प्रहार गरनै अर्जूनको दिक् दिई ।।३६।।

अर्जुनले पनि अश्व सारथिकनै श्रअस्वथामाजिको ।
मार्दीए अनि काट्दिए धनु तहाँ श्रीकृप आचार्यको ।।
काटे फेर ध्वजा धनू कृतवरम् दुःशासनैको अनि ।
अग्नीको सरि तेज् भयो उसबखत् अर्जूनजीको पनि ।।३७।।

यस्तै रीत सँगे लडीलडि अनी साँझै परी गो तहाँ ।
सात्यीकी विरले पनि अति गरे कौरव् फउज् नाश् वहाँ ।।
चान्चुन् कौरवको त थेन कति जोर् तिन्लाइ रोक्नामहाँ ।
कर्णै मारथि हेर नाक्दम थिए बातै अरूको कहाँ ।।३८।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित