धृतराष्ट्रलाई सञ्जयले बुझाई फेरि व्यास आई सम्झाई जानु, शोक
गर्दै रणस्थलमा गमन, युधिष्ठिरको निन्दा, सबको भेट, लोहाको भीमसेन फोर्नु, गान्धारीसँग कृष्ण भीमसिन युधिष्ठिरादिको बात, कुरुक्षेत्र पुगी आफ्ना आफ्ना स्त्रीहरूले खोज्दै हेर्दै विलाप

सञ्जयले दुरजोधनै नृपतिको सब् प्राणत्याग्को कुरा ।
राजा श्रीधृतराष्ट्रलाई कहँदा माने ति सार्है बुरा ।।
काटेको कदली झईँ गिरिगए विह्वल् भई खूब् पुरा ।
जागे क्यै घडिमा सचेत् हुनगई फेर् हा मरेको कुरा ।।१।।

सुन्नू आज पर्यो ती पुत्रहरुको हे सञ्जये के गरी ।
बाँचूँ कुन् रित पुत्रमित्रहरु सब् छोडी गए हा मरी ।।
राज्यै नष्ट भयो अघी नजर गो अब् बाँचि दुःखै पर्या ।
क्या रीतले रहुँ जो अघी हित वचन् मूर्खाइँले त्याग् गर्या ।।२।।

श्रीपीतामह भीष्म ज्ञानि नितिवान् वीदुरहरूको पनि ।
तिनको हीत वचन् नमानि उहि फल् रूनू पर्यो दुख् बनी ।।
हा दुःशासन दुरजोधन करण् श्रीद्रोण सम्झी पिरी ।
शोच्छू तीनि कहाँकहाँ चलिगए सम्झेर छाती चिरी ।।३।।

फाट्यो हिर्दय है भनेर नृपती धृतराष्ट्रले खूब् गरी ।
व्याकुल् धेर भएर सञ्जय तहाँ विन्ती गरे राम्ररी ।।
हे राजन् गुणि वेदशास्त्रीहरुको हितका वचनले भरी ।
सूनेको छ हजूरले त उपदेश् शोक् छोडनोस् यो घरी ।।४।।

लैजाने पनि छैन शोक् स्वरगमा छोड्नोस येसै बखत् ।
ऐल्हेको समयै चऊतरफमा हाहा छ सारा तखत् ।।
ढाकेको छ उदासिले भरि यहाँ अट्टार अक्षौहिणी ।
सेना राजन देश् विदेशि वध भो छोरा हजुर्का अनि ।।५।।

साथैमा सब मारिए गरनुहोस् प्रेतकर्म झट्टै यहाँ ।
हे राजन् मुरखै भई हजुरका पुत्रै मरे रणमहाँ ।।
दुःशासन् शकुनी यि दुष्टहरुका लीएर नै सम्मति ।
काम् गर्थे बिगरी गयो यसमहाँ आश्चर्य भैगो कति ।।६।।

दुर्योधन्नृपले श्रिभीष्म कृपजी वीदूरको फेर् अति ।
द्रोणाचार्य र कृष्ण नारदजिको बातै नमान्दा खती ।।
सारा वंश गयो सुयोधन मुरख् द्वेषी भई खूब् यहाँ ।
लालची धेर् कलहप्रियै हठि थियो उन्मत्त धेर् मनमहाँ ।।७।।

तेस्तो बिग्रनमा नगर्नु पनि होस् राजन् अचम्मै कति ।
उस् बेला अघि शोच्नु भेन यि कुरा आगे पिछेको रती ।।
जो पर्ने समझउने निति कुरा त्यागी विदुर्को अति ।
हा छोराहरु प्रेमले त्यजनुभो उन्ले भनेको जति ।।८।।

त्यो बेला हितबात् सबैसँग विमुख् भैगो हजुर्को मति ।
शत्रूझैँ त भए विदूर पनि झन् फल् हो उही यो जति ।।
जो हूने भइगो श्रि ईश्वरगती जान्दैन क्वैले रती ।
रणमा पुत्रहरू विरैगति मरे शोक् छोडनोस् भूपति ।।९।।

रूनूहुन्छ चुहाइ आँसु कति है ज्ञान्वान बुद्धीमती ।
गर्दैनन् भनि शोक् रहे चुप ति फेर् मूखै मलीनू अति ।।
देखी दिक् धृतराष्ट्रको विदुरले नीचोड् ज्ञानको जति ।
बोले धेर बुझाइ ताप् नगरनोस् स्वप्नै छ संसार् गति ।।१०।।

जो जन्म्यो उ यहाँ अवश्य मरछन् नाशिन्छ देख्या जति ।
संयोग्को छ वियोग् अवश्य यकदिन् लीला विचित्रै अति ।।
यो माया चलिरहेछ घुम्छ निशिदिन् कल्पान्त भै यो गति ।
आर्को फेर् बदलिन्छ यो नियममा हूँदैन फर्कै रती ।।११।।

जानी यो भुलि बुद्धिमान् हजुरको शोक् आइगो यो कहाँ ।
कालेको परिवर्तनै कति भनूँ मालुम् छ सारा यहाँ ।।
तस्मात् यो मन खीचि शान्त गरनोस् आत्मा अमर् हुन् हरि ।
कर्मैको फल भोग्नुपर्छ सबले संसार चक्रै भरी ।।१२।।

कोही पुग्दछ माथि गिर्दछ निचा जाँदैन झट्टै तरी ।
बाँच्नू मर्नु त वस्त्रको बदलिझैँ यो हुन्छ बार्बार् गरी ।।
धारन् हुन्छ शरीर् बुझी हजुरले शोक् छाडनोस् यो घडी ।
भन्ने बेस् उपदेश् सुने विदुरको धृतराष्ट्र मनमा गडी ।।१३।।

क्यै शोक् शान्ति भयो परन्तु उ बखत् फेर् सम्झि विह्वल् भए ।
सार्है दुःखि थिए अनी उहि बखत् श्रीव्यास आईगए ।।
बूझाईकन शान्त पारि कुटिमा फिर्दाभए ती जसै ।
श्री राजाधृतराष्ट्रले अनि तयार् रथ् गर्न लाए तसै ।।१४।।

गान्धारी रनिवासका सब जना रानीहरूको लिए ।
आगे कुन्ति भई रुँदै ति निकले सामू विदूरै थिए ।।
लागे तीनि बुझाउनै तर पछी झन् आफु नै दिक् लिई ।
लागे ती पनि रून उस् समयमा दर्बार कम्पै दिई ।।१५।।

निक्ले रोइ कराइ शब्द गरदै चार्ततर्फ ढाकीदिए ।
सम्पूर्णै अघि रानिको विदुरले रथमा चढाई लिए ।।
कूरुक्षेत्र तरफ् चले तिनि सबै जो रानिहेरू महाँ ।
देखेको त थिएन है जगपती श्रीसूर्यजीले वहाँ ।।१६।।

ऊ रानीहरु रोइरोइ अहिले झाँक्रो फिँजाई तहाँ ।
गोठालाहरु सङ् पुछेर तिनिले हिँड्थे त बाटोमहाँ ।।
जान्थे सब् गहना फुकालि रुँदई फ्याँक्दै भईँमा कति ।
जो देख्थे करुणा उठी हृदय ता चूर्चूर हुन्थ्यो अति ।।१७।।

पग्ली यो मन वृद्ध बालख सबै रुन्थे हहाकार् गरी ।
जान्थे श्रीधृतराष्ट्र रूँदइ तिनी स्त्रीहरुसङ्मा धरी ।
केही दूर पुगीगए ति नृपती छोडेर डिल्ली अनि ।।
मीले कृप् कृतवर्म द्रोणसुत फेर् विस्तार् गरे सब् पनि ।।१८।।

रात्रीको समचार् सहित तिनि कहे पाण्डवहरू धेर् थरी ।
सारा सैन्य विनाश् गर्यौं भनि धिरज् धृतराष्ट्रलाई गरी ।।
बोले हामि उपर् कुपीत अति छन् पाण्डवहरू दुख् गडी ।
आएका छन मार्न जान्छउँ भनी हिँड्दा भए त्यै घडी ।।१९।।

प्रेमले राजनलाई ढोगि रथमा गङ्गातटै वेग् धरी ।
पौँचेथे उतरी तिनी तिनजना सल्लाह बात्चित् गरी ।।
हस्तीनापुरितीर श्रीकृप गए आफ्नै अनी देश्महाँ ।
कृत्वर्मा गइ द्वारकापुरि तरफ् रस्ता लिए फेर् वहाँ ।।२०।।

व्यासको आश्रममा गए उस बखत् श्रीअस्वथामा तहाँ ।
छीनेथे मणि तीनि द्रोणसुतको पाण्डवहरूले वहाँ ।।
यो बात् भै सकि फेर् युधिष्ठिर तहाँ धृतराष्ट्रजीले अनि ।
गङ्गाका तटमा स्त्रीहरु सबको लीएर हीँडे भनी ।।२१।।

सूनी यो समचार् युधिष्ठिर पनि खूब् जल्दिजल्दी तसै ।।
सात्यीकी र युयुत्सु कृष्ण भगवान् भाइ लिई साथ् जसै ।।
भेटाऊनुभयो युधिष्ठिरजिले स्त्रीहरु बाटोमहाँ ।
निन्दा धेर गरे युधिष्ठिरजिको भन्थे गर्यौ के यहाँ ।।२२।।

वध् तिम्ले त गर्यौ पितामह गुरू बन्धू र बान्धव् मरी ।
छोरा नाति र मित्र मारि कुल यो सोख् भोग लौ राज् भरी ।।
भन्थे स्त्री सबले सुनी मलिन मन् यूधिष्ठिरैले गरे ।
तीनी स्त्रीहरुलाई छोडि गइ फेर् धृतराष्ट्र पाऊ परे ।।२३।।

पूगी सम्मुखमा त नाम् कहिकही ताहाँ प्रणामै गरे ।
यूधिष्ठिर्कन धृतराष्ट्र दुखि भै छाती लगाई धरे ।।
भीमसेनको अनि काख राखछु भनी क्रोध् ली अगाडी सरे ।
शोक्रूपी हुरि धेर् चली रिस बली धपधप शरीरै गरे ।।२४।।

भीम्सेन रूप् रुखको जलाउन तिनी तत्पर् तुरुन्तै परे ।
ईशारा गरि कृष्णले त झटपट् भीम्सेनको दूर् गरे ।।
लोहाको भिमसेन् ठुलो त हतियार् थीयो त पैल्हे तहीँ ।
उस्लाई हरिले अगाडि नृपको राखीदिनूभो वहीँ ।।२५।।

भीमसेनको पनि मार्न मन् खुप भई धृतराष्ट्रले क्रोध् गरे ।
दशहज्जार् गजको थियो बल सबै लीएर आगे सरे ।।
राखी काख फलामको लिइ मुसल् हानेर झीरी मिरी ।
धूलो भो उ फलामको त भिमसेन् फूटेर चर्चर् चिरी ।।२६।।

लागे ती पछि फेरि शोच गरनै भीम्सेन् मर्यो हा भनी ।
आज्ञा भो प्रभुले त भीमसिन जिवित् छन् शोक छोड्नोस् पनि ।।
भन्नुभै तहिँ गुह्य खोलि उपदेश् सूनेर त्यो बात ज्ञान् ।
धृतराष्ट्रैकन केहि शाम्य हुनगो गान्धारि दिक्कै थिइन् ।।२७।।

शान्त क्रोध भएन त्यै बखत मा श्रीव्यास आए तहाँ ।
सारा बात् पनि धर्मशास्त्रहरुको उपदेश दीए वहाँ ।।
संसार् यो छ अनित्य बीजुलिझईँ के अर्थले दिक् गयो
भन्नूभै गुढ बात् बुझाउनु भयो छर्लङ्ग भै शोक् गयो ।।२८।।

गान्धारी अधिरानिले अनि कहिन् हे व्यास मोहै भई ।
माया लागि वियोग पुत्रहरुको वीवश् भएँ सब् गई ।।
जोजो क्रोध गर्यौँ यि पाण्डव उपर् प्रेम् पुत्र भै हामिले ।
गन्र्यै हो पनि प्रेम् यिनैकन गर्यो अन्याय भीम्सेनले ।।२९।।

दुर्योधन्नृपलाई नाभि मुनिमा हान्दा गदा एक् रती ।
बोलेनन् तहिँ कोहि कृष्णजि सहित् देख्दै अधर्मै अति ।।
त्यो हेतू रिस हुन्न शान्ति अहिले मेरो कहिन् रीस् गुथी ।
गान्धारी अधिरानिको भन्नुभो फेर् कृष्णजीले उठी ।।३०।।

हे रानी अरुहरुको भुल सबै देखिन्छ रायो जति ।
आफ्नु भूल् पनि बेलकै सरि हवोस् देख्दैन क्वैले कति ।।
दुर्योधन् नृपले यि पाण्डवसँगैलाई ननीको मति ।
अन्यायै गरि दुख् दिए तिनिकनै मालुम् छ रत्तीरती ।।३१।।

भीमसेनले पनि क्षत्रि धर्मअनुसार् आफ्नू प्रतिज्ञा जती ।
पूरा काम गरे त क्रोध यसले गर्नेछ आफ्नै खती ।।
नाफा छैन कती प्रभू कहनुभो तै भीमसेन् धेर् डरे ।
गान्धारी नजिकै गई ति भिमसेन् हात् जोरि विन्ती गरे ।।३२।।

हे माता दुरजोधनै नृपतिले अन्याय धेर् खर्खरी ।
हामी माथि गरे सबै हजुरमा मालुम् छ एक्एक् गरी ।।
अत्याचार् उहि याद् गरेर मइँले क्रोध्का वशैमा अधीन् ।
मारेँ है भनि बात् सुनेर भिमका गान्धारि उत्तर् दिइन् ।।३३।।

हे भीम्सेन् त्यतिमात्र हे नरअधम् दुःशासनै प्राण् हरिस् ।
तैँले छातिमहाँ चढेर उसको घोर् राक्षसी दिल् धरिस् ।।
चूसिस् रक्त र मारदिस् सय कुमार् एक् छोडिनस् वध् गरी ।
राज्यै यो छिनियो त वृद्धवयमा आयो विपत्ती परी ।।३४।।

कष्टै भोग्नुपर्यो भनिन् र भिमसेन् बोल्दाभए फेर् तहाँ ।
हे माता सब दाजुभाइहरुको हो रक्त एकै यहाँ ।।
फर्कै छैन फगत् दुशासन रुधिर् लाएँ म ओठैमहाँ ।
थुकेथेँ अघिको वचन् पनि पुरा गर्नै निमित्तक् वहाँ ।।३५।।

पीएको त छईन रक्त मइँले खान्थेँ कसोरी गरी ।
छोराको अरघैलि ता हजुरले देख्या नदेख्यै सरी ।।
पैल्हे रोक्नु भएन दुख् खुब दिए रीस् हामिमाथी धरी ।
ऐल्हे दोष मलाई लाउनुभयो नाहक् छ व्यर्थै गरी ।।३६।।

यो बात् भैसकि फेर् युधिष्ठिरकनै गान्धारिले खोज् गरिन् ।
काँप्दै गै महराज् युधिष्ठिरजिले पक्री लिनूभो चरण् ।।
गान्धारी तहिँ क्यै नबोलि नकही श्वास् लामु फेर्दै रहिन् ।
चार्भाई अनि बाँकि झट् तहिँ गए श्रीकुन्तिजीका शरण् ।।३७।।

ढोगे प्रेम् गरि कुन्तिले अनि तहाँ खूब् पुत्रस्नेहै गरिन् ।
व्याकुल् भै ति उठाइ ली शरिर भर् हात्ले मुसारी लिइन् ।।
उस् बेला त रुँदै थिईन कुनती आर्को सकसमा परिन् ।
देखिन् द्रौपदिको रुँदै पृथिविमा झन् आफु व्याकुल् बनिन् ।।३८।।

डाँको छोड्दइ छोडदै पिर अत्यन्त रूँदी भइन् ।
वीर् बालक् अभिमन्यु पाँच् द्रुपदिका जो पुत्रको वध् सुनिन् ।।
काटेको कदली झईँ द्रुपदिको देखेर वीकल् भइन् ।
पक्री बाँह ति द्रौपदीकन तई ऊठाइ धीरज् धरिन् ।।३९।।

फेरी पुत्रहरू र द्रौपदि लिई गान्धारि पास्मा गइन् ।
हेरी कुन्तिजिको उदास् अति भई गान्धारि भन्दी भइन् ।।
हे कुन्ती कुछ शोक् नलेउ पहिले भन्थे विदुर् यी वचन् ।
सोही बात भयो भविष्य अहिले गर्छ्र्यौ तिमी शोक् कवन् ।।४०।।

ऐल्हे पर्न गयो मलाई दुख धेर् भोगीरहेछू कठिन् ।
तिम्लाई र मलाई आइ कसले सम्झाइ शोक् टार्दिनन् ।।
मेरो नै अपराधले कुरुकुलै नाशी बिलायो यहाँ ।
हाहा के गरुँ है भनिन् अघिसरे यूधिष्ठिरै फेर् तहाँ ।।४१।।

माहाराज् धृतराष्ट्र भाइहरु सब् श्रीकृष्ण आगे गरी ।
राखे फेर् कुरुवंशका स्त्री बिचमा लीएर साथै धरी ।।
पूगे त्यो कुरुक्षेत्रको त मइदान् उच्चाट लाग्दो तहाँ ।
थीयो दृश्य पनि भयानक अती सङ्ग्राम भूमीमहाँ ।।४२।।

देखे लास खजीत चौवरि रगत् भीजी जमीनैभरी ।
रथदेखी उतरे ति स्त्रीहरु सबै दिक्दार सार्है परी ।।
स्याल् कुत्ता अनि गिद्ध चौतरफमा लूछाचुँडी गर्दथे ।
देख्दैमा डर लागने अधमरा हाहागरी बोलथे ।।४३।।

आफ्नू आफ्नु पती त खोज् गरिगरी लोटे जमीनै महाँ ।
लागे ती लडिबूडि गर्न करुणा रस्ले उ बेला तहाँ ।
पग्लन्थ्यो र्हदयै भई मइँनझैँ कस्तै कठोर्को पनि ।
स्त्रीहेरू शिर पीटिपीटि रुदनै गर्थे प्रितम्सङ् अनि ।।४४।।

क्वैले काखमहाँ धरेर पतिको शिर् तहिँ मूर्छा परी ।
छन् कोही रुँदई रुँदै पिय भनी सार्है अधीरै गरी ।।
क्वैक्वैले त अलाप्विलाप् गरिगरी खोज्छन् पती चौँवरी ।
खोज्छन् क्वै स्त्री यि दाजुभाइ पितरी रोएर हाहा गरी ।।४५।।

छोरालाई त खोजछन् कुनकुनै रोई वियोगै परी ।
मूर्छा छन् कति दूरयोधन स्त्री यी गोद्मा पती शिर् धरी ।।
लागिन् लूछन रौँ ति शिर् पिटिपिटी छीयाछिया नै गरिन् ।
आमा लक्ष्मणको पनि यिनि त हुन् राम्री बहुतै थिइन् ।।४६।।

काटेको रुखझैँ गिरीकन तिनी मूढोसरी नै भइन् ।
नानाशोक् गरि फेर् दुशासन अनी वीर् कर्णको स्त्री गिरिन् ।।
अर्धैचन्द्रसरी लेछीइ तहिँ शिर् शोभा गरी ति करण् ।
पूर्णाको द्वितिया सरी सबइले देखे उज्यालो किरण् ।।४७।।

बोलिन् फेर् तहिँ उत्तरा अति ठुलो हो चक्रव्यूहै प्रितम् ।
हेलैसीत पसेर फोरनुभयो मैले गरेँ कुन करम् ।।
लेखेको त टरेन हून विधवा मेरा नसिब्मा भनिन् ।
स्वामीलाई धरेर काख बिचमा रोएर वीलाप् गरिन् ।।४८।।

मारे जाल गरी अधीरथि मिली एक्माथि लाखौँ त जन् ।
लड्दा तैपनि धेरबेर् टिकनुभो आखीर छोडी मगन् ।।
जानूभो किन हंस छोडि अहिले देख्छू भुमीमा शयन् ।
उठ्नोस् नाहिँ त जान्छु मैपनि सँगै मेरो गईगो चयन् ।।४९।।

बोलूँला म मिठो त्यजी कउनसङ् षट्मास मात्रै रमण् ।
लेखेको त रहेछ भोग गरनू भन्दै बिहोसी बनिन् ।।
क्यै भो चेत बुझाउँदा स्त्रीहरुले बाबा विराट्को मरण् ।
देखी सामु ति उत्तरा झन अनी शोक्ले त मूर्छा परिन् ।।५०।।

स्याल्कुत्ता पनि दूर् गरी कुनकुनै आफ्ना प्रितम् खोजथे ।
काग् कुक्कुर् नहटेर बैनि कुनभो हाम्रो करम् भन्दथे ।
स्वामी स्वर्ग हुँदा कठैवरि अहो हाम्रो भयो दूरदिन् ।
काग्गिद्धै पनि टेरदैन अब को टेर्छन् भयौँ हामि हीन् ।।५१।।

वीर्को हंस उड्यो र मट्टिकन काग् मन्पर्दि गर् जो छ मन् ।
भन्थे क्वै अनि कर्णको स्त्रीइ भनिन् हे स्वामि छोड्छू म तन् ।।
दुर्योधन् पनि खूब् घमण्ड गरथे लीई हजुर्कै शरण् ।
सूर्येको झइँ तेज् हिमालय झइँ थीयौ प्रतापी चरण् ।।५२।।

दानीमा बलिको समान सबले भन्थे विधाता मलिन् ।
हूनूभो अघि श्रापको निहुँ जमिन् ग्रास् पाँगराको गरिन् ।।
जो हूने भवितव्यता मिलिगयो अन्यायले भो मरण् ।
मैले के गरुँ स्वामि भावि लिखनी काल् टारि को सक्दछन् ।।५३।।

स्त्रीको स्वामि सिवाय छैन अरु देव् जाऊँ म कस्को शरण् ।
हे नाथ् जान्छु सँगै अधर्मि बसछन् छोडी पतीको चरण् ।।
भन्दै पत्थरझैँ भइन् जति मरे भीष्मादि द्रौणै अरू ।
थीए राजनको पियारि महिषी आमा र बैनीहरू ।।५४।।

नाना शोक गरी विलाप गरथे रोएर धूरूधूरू ।
मूर्छा छन् कति ती विचेत हुनगै भन्थे हहा के गरूँ ।।
फेरी कृष्णजिलाई त्यो सकल पीर् गान्धारि आगे गई ।
देखाई सय पुत्रलाई ति गिरिन् शोक्ले अनी होस् भई ।।५५।।



प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित